प्रधानमन्त्रीलाई कारबाही गर्न प्रचण्डको माग – Nagarikabhiyan : National News

प्रधानमन्त्रीलाई कारबाही गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

प्रचण्डको सचिवालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागि निर्वाचन आयोगसमक्ष माग गरेको हो ।

‘सरकार प्रमुखले नै स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन गराउनुको सट्टा कुनै उम्मेदवारको पक्षमा अपिल गर्नु निर्वाचनको आधारभूत सिद्धान्त विपरीत हो’, प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको विज्ञप्तिमा जनाइएको छ ।

‘प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोगसमक्ष आग्रह गर्दछु।’ जारी विज्ञप्तिमा यो पनि भनिएको छ।