विराटनगरको नोबेल अस्पतालमा कोरोना संक्रमणबाट एक दम्पतीको मृत्यु – Nagarikabhiyan : National News

विराटनगरको नोबेल अस्पतालमा कोरोना संक्रमणबाट एक दम्पतीको मृत्यु

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा कोरोना संक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार ६९ वर्षीय पुरुष र ६४ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनीहरु पति पत्नी हुन् ।

भारतको मुम्बईमा बस्दै आएका उनीहरु पुख्र्यौली थलो ताप्लेजुङ घुम्न आएका थिए । चार महिना अघि जन्मथलो आएका उनीहरु नाका बन्द भएपछि मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित आफन्तको घरमा रोकिएका थिए ।

पथरीमा बस्दा नै उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्ध पुरुषलाई वैशाख २० र उनकी श्रीमतीलाई वैशाख २३ गते उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरियो ।

नोबेलमा श्रीमतीको शनिबार राति १ बजे र श्रीमानको आइतबार बिहान ११ बजे मृत्यु भएको हो । श्रीमतीको मृत्यु भएको १० घण्टामा श्रीमान्को मृत्यु भएको हो । मृतक दुवैमा दमको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।