नेपालगञ्ज मेडिकल कलेजमा तीन जना संक्रमित गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकालियो – Nagarikabhiyan : National News

नेपालगञ्ज मेडिकल कलेजमा तीन जना संक्रमित गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकालियो

नेपालगञ्ज। नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा एकसाताको अवधीमा तीन जना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरेर बच्चा निकालिएको छ । नेपालगञ्ज मेडिकल कलेजले बुधवार एक विज्ञप्ती जारी गरेर दिएको जानकारी अनुसार संक्रमित भै जटिल अवस्थामा पुगेका तीन जना महिलाको कोहलपुरमा सफल शल्यक्रिया गरेर बच्चा जन्माईएएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहनिर्देशक डा नितेश कनोडियाले पछिल्लो पटक भूमी–४ रुकुमकी ३२ वर्षीया संक्रमित महिलाको शल्यक्रियामार्फत बच्चा (छोरी) निकालिएको बताउनुभयो ।
उहाँका अनुसार पीसीआर रिपोर्ट पोजेटिभ आएपछि ती महिला बैशाख २० गते राती ९ बजेतिर अस्पताल भर्ना भएकी थिइन् ।
ती महिलाको अवस्था जटिल हुन थालेपछि शल्यक्रियामार्फत बच्चा निकालिएको शल्यक्रियामा संलग्न स्त्री रोग बिशेषज्ञ डा कविता सिन्हाले बताउनुभयो । उहाँका अनुसार बच्चाको तौल २ दशमलव ७ किलो छ । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा सिन्हाले बताउनुभयो ।
सो शल्यक्रियामा डा सिन्हासहित प्रोफेरस डा मीता सिन्हा, डा गोमा रिमाल, डा शैलेन्द्र शाक्य, डा श्यामानन्द शाह, नर्स सरस्वती श्रेष्ठ, हेमा शाही, अम्वि महरालगायतको टोली सहभागी थियो ।
सोही प्रकारले उक्त अस्पतालमै सुर्खेत भेरीगंगा नगरपालिका ११ की २२ वर्षीया संक्रमित गर्भवति र नेपालगन्ज उपमहानगरपालिका ६ की ३२ वर्षीया संक्रमित गर्भवतिको शल्यक्रियामार्फत बच्चा निकालिएको थियो ।
डा. कनोडियाका अनुसार मेडिकल कलेजमा अहिले तीन जना संक्रमित सुत्केरी हुनुहुन्छ ।
यस्तै गर्भपतनपछि रक्तश्राव नरोकिएकी एक अर्का महिला पनि अस्पताल भर्ना भएकी छिन् । उनी पनि कोभिड पोजेटिभ हुन् । अस्पतालका अनुसार, २४ हप्ताकी अर्की गर्भवति पनि संक्रमित छिन् । उनीपनि अस्पताल भर्ना भएकी छिन् ।
अस्पतालका अनुसार अस्पतालमा उपचाररत उनीहरु सबैको अवस्था सामान्य छ । गएको बर्ष सो अस्पतालमा चारजना संक्रमित गर्भवतिको शल्यक्रियामार्फत बच्चा निकालिएको अस्पतालका सह निर्देशक डा. कनोडियाले बताउनुभयो । सिराज खान/