विराटनगर दरैया सीमा ईलाकाबाट साढे ११ लाख रुपैयाँसहित दुई जना पक्राउ – Nagarikabhiyan : National News

विराटनगर दरैया सीमा ईलाकाबाट साढे ११ लाख रुपैयाँसहित दुई जना पक्राउ

विराटनगर । मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानरपालिका–१६ दरैया बस्ने २३ वर्षीय अमोद यादव र भारतमा घर बताउने १८ वर्षीय अभिषेक चौधरी छन्।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई भारतबाट नेपालतर्फ लुकिछिपी आउँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि उक्त रुपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए।

यादवको साथमा पाँच लाख रुपैयाँ र चौधरीको साथमा ६ लाख ५० हजार रुपैयाँ फेला परेको शर्माले जानकारी दिए। बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको छ।