सरकार आफ्नो दायित्वबाट पन्छिन मिल्दैन : चिकित्सक संघ – Nagarikabhiyan : National News

सरकार आफ्नो दायित्वबाट पन्छिन मिल्दैन : चिकित्सक संघ

काठमाडौं । सरकारले कोरोना सङ्क्रमितको लागि बेड अभाव रहेको र स्वास्थ्य प्रणालीले धान्न नसकेको विज्ञप्ति निकालेकोमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । नागरिक स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको भएको हुँदा कोभिडको महामारीमा नेपाल सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने चिकित्सक संघको ठहर छ ।

संघले आज विज्ञप्ति निकालेर नागरिकका साथमा रहनुपर्ने सरकार नै महामारीबाट पन्छिन खोज्नु आपत्तिजनक रहेको बताएको हो ।

महामारीसँग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढनु शनिबारको आवश्यकता रहेको उनीहरुले बताएका छन् ।

संक्रमितको उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयम् नै संक्रमित हुँदै गइरहेको भन्दै संघले उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्यसम्म उपचार दिन सक्ने वातावरण तथा जनशक्तिको उचित ब्यवस्थापन गर्न पनि माग गरिएको छ ।

महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झै आवश्यक सहयोग र सहकार्य गर्न आफूहरु तयार रहेको पनि संघले स्पष्ट पारेको छ ।