लिम्पियाधुरा र लिपुलेकको भुभाग चित्रमा मात्र सिमित कसरी गर्ला नेपालले जनगणना – Nagarikabhiyan : National News

लिम्पियाधुरा र लिपुलेकको भुभाग चित्रमा मात्र सिमित कसरी गर्ला नेपालले जनगणना

नेपालले गत वर्ष लिम्पियाधुरा र लिपुलेक र कालापानी क्षेत्रलाई समेट्ने गरी नक्शा अद्यावधिक गरेको थियो

गत वर्ष सरकारले नेपालको प्रशासनिक नक्सा अद्यावधिक गर्दै समावेश गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा जनगणना गर्न विभागले छुट्टै विधि अपनाउने योजना बनाएको बताएको छ।

हाल भारतीय अधीनमा रहेको सो क्षेत्रमा गणकहरूलाई पुर्‍याउन सकिनेबारे केन्द्रीय तथ्याङ्क विभागकै अधिकारीहरू निश्चित छैनन्।

गणकहरू पुग्न सम्भव नभए प्रविधिको माध्यमबाट घरहरू गणना गरेर जनसङ्ख्याको अनुमानित सङ्ख्या उल्लेख गर्न सकिने विभागका एक अधिकारीले बताए।

“जनगणनाको परिभाषाले नै सम्पूर्ण नेपालको भूभागभित्र बसोबास गर्ने मानिसहरूको सङ्ख्या गणना गर्ने भन्छ। तर वास्तविकता अलि फरक छ। अब त्यो ठाउँमा आवागमन सहज नभएसम्म के गर्न सकिन्छ भनेर हामीले छलफल गर्दैछौँ” विभागका उपमहानिर्देशक हेमराज रेग्मीले भने।

थपिएको भूभाग समेटिएको दार्चुला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर जनगणना गर्न अहिलेकै अवस्थामा असम्भव जस्तै रहेको बताइन्। त्यसका लागि सरकारले नै पहल गर्नुपर्ने उनको भनाइ छ।

“त्यो ठाउँ अहिले निषेधित क्षेत्र छ, राज्यको उपस्थिति र पहुँच दुवै छैन। अहिलेकै अवस्थामा चाहिँ त्यहाँ पुग्न सम्भव होला जस्तो छैन,” उनले भनिन्।

सरकारले गत वर्ष नेपाल भारत सीमाभन्दा एक किलोमिटर वर छाङरुमा सशस्त्र प्रहरीको आधार स्थापना गरे पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतीय नियन्त्रणमै छन्। उक्त क्षेत्रमा नेपाली नागरिकहरूलाई आवतजावत गर्न भारतीय पक्षले निषेधित गरेको सहायक प्रजअ जोशीले जानकारी दिइन्।