झा दम्पतीको हत्या गर्ने ७ जना जेल चलान – Nagarikabhiyan : National News

झा दम्पतीको हत्या गर्ने ७ जना जेल चलान

जनकपुरधाम ।  महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई घरमा सुतिरहेको अवस्थामा ओछ्यानसहित अपहरण गरि हत्या गर्ने स्थानीय ७ जनालाई महोत्तरी जिल्ला अदालतले शुक्रबार जेल चलान गरेको छ।

 

जिल्ला न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले प्रतिवादीहरु कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने राजीन्द्र यादव, विकास भन्ने बब्लु झा र तारादेवी झालाई जेल चलान गरेको हो । १० फागुन २०७७ को राति झा दम्ती ओछ्यानसहित बेपत्ता भएका थिए ।

यद्यपि, तारादेवी झालाई दुई लाख धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश दिइए पनि धरौटी रकम बुझाउन नसक्दा उनीसहित सातै जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ। घटनामा संलग्न अन्य दुईजना रञ्जित मिश्र र तेजनारायण झालाई पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

झा दम्पतीका छोरा मनिष झाले अपहरण, शरीर बन्धक, ज्यानसम्बन्धी कसुर, आपराधिक संयन्त्र, लागुऔषध र चोरी मुद्दामा प्रतिवादीहरु सात जनाविरुद्ध मुद्धा दायर गरेका थिए । यससँगै उनीहरुलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ।

ओछ्यानसहित बेपत्ता पारिएका झा दम्पतीको एक महिनापछि अर्थात चैत १२ गते प्लाष्टिकको बोरामा कंकाल मात्र बाँकी रहेको अवस्थामा माटोमा गाडेको अवस्थामा फेला पारिएको थियो ।

यसरी भेटिएको थियो सब
पिपरा–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा बाढीले माटो बगाई बनाएको खाल्डोलाई स्काभेटरले माटो मिलाउन खोज्दा स्काभेटरको बकेटमा बोरा आएको थियो । त्यसपछि बोरामा के रहेछ भनेर हेर्दा झा दम्पतीको शव नै भएको पत्ता लागेको थियो।

यस्तो छ घटनाक्रम
शव भेटाउन प्रहरीलाई महिना दिन लागेको थियो । गत फागुन १० गते रातिको खाना खाएर मुसाफिर झा र उनी श्रीमती गीता देवी अलग–अलगत कोठामा आराम गर्दै थिए ।

उनका बुहारी अंशु र उषा पनि छोराछोरी लिएर आफ्नो कोठामा गइन् । त्यहीबेला अपराधी गिरोहले ओछ्यानमै वृद्ध झा दम्पतीको धारिलो हतियारले हत्या गरे ।

ओछ्यानसहित झा दम्पतीको शव बाकसमा लुकाएर बेपत्ता पारे । टिनको बाकसभित्र दाउरामा मट्टितेल हालेर जलाए । तर, शव जलेन । त्यसपछि बोरामा हालेर गाउँ नजिकै खाल्टो खेर शब पुरियो । शव कुहाउन नुन हाले । मुसाफिर दम्पतीको घटना लुकाउन अपराधीले महिना दिनसम्म प्रयास गरे । तर, उनीहरुको पोल प्रहरी खोल्न सफल भएको छ ।

कैलाशको घर पछाडि मृतक झा दम्पतीको घरबाट हराएको कपडा, बेड आधा जलेको अवस्थामा फेला परेको छ । हत्या गरेर केही समय टिनको बाकसमा शव राखेर लुकाइएको थियो । पछि शवलाई शवलाई जलाउन खोजिएको प्रहरीको अनुसन्धनमा खुलेको थियो ।न्यूज२४बाट