कलाकारहरूको फेसबुक ह्याक गर्ने किशोर पक्राउ – Nagarikabhiyan : National News

कलाकारहरूको फेसबुक ह्याक गर्ने किशोर पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कलाकारको फेसबुक ह्याक गरेकाे अभियाेगमा १४ वर्षीय किशोरलाई पक्राउ गरेकाे छ ।  केही समयअघि कलाकार तथा निर्मात्री दिपाश्री निरौला, नायक तथा निर्माता सरोज खनाल लगायतका कलाकारहरुको फेसबुक ह्याक भएको थियो ।

दिपाश्री निरौलाले आफ्नो फेसबुक ह्याक भएको भनेर प्रहरीको साइबर ब्यूरोमा उजुरीसमेत दिएकी थिइन् । उनै फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोरलाई प्रहरीले मंगलबार पर्साबाट पक्राउ गरेको छ ।

साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार मंगलबार पक्राउ गरिएका किशोरले आफ्नो अपराध स्वीकार गरेका छन् । अहिले उनलाई काठमाडौं ल्याइने तयारी भइरहेको छ ।

प्रहरीका अनुसार कलाकारहरुको फेसबुक ह्याक गर्ने ह्याकर स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत छन् । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय किशोरलाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।