निर्वाचन आयोगले ओलीलाई वैधानिकता दिएपनि नआत्तिन माधवको यस्तो आग्रह – Nagarikabhiyan : National News

निर्वाचन आयोगले ओलीलाई वैधानिकता दिएपनि नआत्तिन माधवको यस्तो आग्रह

काठमाडौं । निर्वाचन आयोगले केपी शर्मा ओलीलाई वैधानिकता दिएपनि नआत्तिन  नेकपा एमालेका नेता माधवकुमार नेपालले  नेताकार्यकर्तालाई आग्रह गर्दै बताएका छन् ।

 

आज मंगलबार आफ्नो समूह निकट बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आयोगले केपी ओलीको निर्णयलाई वैधानिकता दिए नआत्तिन आग्रह गरेका हुन् ।

 

उनले भने,  समस्या आएमा समाधान  निकाल्ने, ‘तपाईंहरु र हामी एउटै डुङ्गामा सवार भएका छौं, त्यो डुङ्गालाई सफलताका साथ वारीबाट पारी पुर्‍याइछाड्ने छौं । लक्ष्यसम्म पुगिछाडने छौं । आत्तिनुपर्ने केही छैन ।  सर्वोच्चको फैसलाले एमाले पुनर्जिवित भएपछि ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरुको मात्र वैठक राखेर विधान संशोधन, पदाधिकारी खारेज, माओवादीबाट आएका नेताहरुलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसलाई वैधानिकता नदिन माग गर्दै नेपाल समूह आयोग गएको छ ।

 

नेता नेपालले भने, लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहेको र दलहरुसँग सकारात्मक कुराकानी भएको  छ । ‘संयुक्त जनमोर्चासँग कुरा गर्‍यौं, उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, नेकपा माओवादी मोहन वैद्यजीहरुको समूहसँग कुरा गर्‍यौं, उहाँहरुपनि सकारात्मक हुनुहुन्छ, अरु लोकतान्त्रिक पार्टीहरुपनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ’ उनले भने, हामी सबै सकारात्मक शक्तिहरुसँग एकतावद्ध भएर जान चाहन्छौं ।

 

हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन ।’ अगाडि बढ्ने क्रममा कसैले वाधा अवरोधहरु खडा गर्‍यो भने त्यसविरुद्ध जुध्न पनि तयार रहेको नेता नेपालले बताए । ओली व्यक्तिवादी, आदेश र निर्देशनमा विश्वास गर्ने व्यक्ति भएको र आफूहरुलाई कारबाही गरेर वास्तविक स्वरुप देखाएको उनले बताए ।

 

अहिले मानिसहरुले ओलीलाई देशको हितमाथि कुठाराघात गर्नुपर्ने हो कि ? संविधान नै समाप्त पारिदिने हो कि ? संघीयता नै निलिदिने हो कि ? गणतन्त्र नै खाइदिने हो कि ? ४७ सालको संविधान व्यूँताउने हो कि ? देशलाई विभिन्न जातीय आधारमा खण्ड विखण्ड पारिदिने हो कि ? धार्मिक हिसाबले पुरै एउटा राज्य एउटा धर्मको देश बनाएर अरु धर्मका मान्छेहरुलाई अत्यन्तै असहज अवस्थामा बस्ने स्थितिमा पुर्‍याइदिने हो कि जस्ता आशंकाका साथ हेरिरहेको नेता नेपालले बताए ।