एमालेबाट नेपाल र रावल ६ महिनाका लागि निलम्बित
१६ चैत्र २०७७, सोमबार १९:०३
काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावललाई कारवाही गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार पत्र पठाउँदै नेपाल र रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका हुन् । यसअघि एमालेले नेता नेपाल, रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको थियो । सो स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै अध्यक्ष ओलीले नेताहरूमाथि कारवाही गरेका हुन् ।
नेता नेपाल र रावलले स्पष्टीकरणको जवाफमा प्रतिप्रश्न गर्दै ओली स्वयं पार्टी विधि, विधान र संविधानको खिलाफमा गएकाले ओली कारवाहीको भागीदार किन नबन्ने भनेर प्रश्न गरेका थिए ।
यस्तै पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय पनि गरिएको छ । उनीहरुले तीन दिनभित्र स्पष्टीकरण किन नदिएको भनी सोधिएको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया