रामधुनी र कोशीका नागरिक संगठनका सदस्यहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
१३ चैत्र २०७७, शुक्रबार १५:५१
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका र कोशी गाउँपालिकाका नागरिक संगठनका सदस्यहरुको क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । सामाजिक परिवर्तन केन्द्रको आयोजना र रामधुनी नगरपालिका तथा कोशी गाउँपालिकाको समन्वयमा दुवै पालिकाका नागरिक संगठनका सदस्यहरुको लागि क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम शुक्रबार सम्पन्न भएको हो । पालिकामा सरकारको कामलाई प्रभावकारी बनाउन नागरिक समाजको भुमिका, पालिकामा सुशासन, पारदर्शिता, जवाफदेहिता र वीधिको शासन स्थापना गर्न चाल्नुपर्ने कदमका बारेमा क्षमता अभिवृद्धि तालिम दिएको आयोजकले जनाएको छ ।
सार्वजनिक सरोकारका विषयमा स्थापना भएका विभिन्न सरकारी तथा गैरसरकारी निकायका विभिन्न संयन्त्रहरुमा नागरिक संगठनका सदस्यहरुको अर्थपूर्ण सहभागिता तथा प्रतिनिधित्व गराउने उद्देश्यले क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको जिल्ला सहजकर्ता रमेश भट्टराईले जानकारी दिनुभयो ।
तालिमको क्रममा सहजकर्ताहरुले सहभागीहरुलाई पालिकाको सामाजिक परिवेश तथा पहुँच ,स्थानीय तह तथा संरचनाको आयामहरु,मानव अधिकारमुखी अवधारणाको विकास,विकास र अधिकारको बुझाई, अवधारणाको क्रमबद्ध विकास,प्रतिनिधित्व र सहभागिता, पालिकामा भएगरेको अभ्यास र महत्व, नेता र नेतृत्व,यसको महत्व, नागरिक संगठनको गुण शैली र भमिका,नेतृत्व विकास र उत्प्रेरणा र उत्प्रेरणाका तत्वहरु लगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिममा कोशी र रामधुनीका २५ जना नागरिक संगठनका सदस्यहरुको सहभागिता रहेको थियो । मानव अधिकारका साथै सु–शासनका लागि स्थानीय स्तरमा पहल गर्दै आई रहेको सवाल र पदाधिकारीहरु पुर्ण रुपमा जवाफदेहिताको अभ्यासका बारेमा छलफल भएको थियो । तालिममा सहभागी भएकाहरुलाई संस्थाका निस्छल खडाल, दिवेश स्यामी, कविता चपागाई, फटिक थापा, रामधुनीका प्रशासयिक अधिकृत ओमकार न्यौपाने, कोशीका प्रमुख प्रशासयिक अधिकृत खगेन्द्र गिरी, मानव अधिकार सञ्जालका अध्यक्ष रमेश भट्टराई लगायतले प्रशिक्षण दिनुभएको थियो ।
१, सुनसरीको नागरिक संगठनका सदस्यहरुको लागि क्षमता अभिवृद्धि तालिमका सहभागीहरु । तस्विर : जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया