माछा चोरीको विषयमा झडप, प्रहरीसहित ५ जना घाइते
६ जेष्ठ २०७७, मंगलवार १६:१९
चितवन । चितवनको मंगलपुरमा माछा चोरीको विषयमा झडप हुँदा एक प्रहरीसहित ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा भरतपुर महानगरपालिका-१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा, ५२ वर्षीय गणेश थापा, वडा नं १६ मंगलपुरका २६ वर्षीय दिपेश बजगाई, २३ वर्षीय दीपेन्द्र बजगाई र दङ्गा नियन्त्रण गण हेटौँडा दरबन्दी भइ रामपुरमा कार्यरत २६ वर्षीय प्रहरी जवान विजय सुनार रहेका छन् ।
गणेश, सन्तोष र दिपेश दीपेन्द्र दाजुभाई हुन् । प्रहरीका अनुसार सोमबार राति १० बजेतिर विवाद हुँदा झडप भएको थियो ।
स्थानीय दिपेश र दीपेन्द्रले पोखरी भाडामा लिइ पालिएको माछा सन्तोष र गणेशले चोर्दै गरेको भेटिएपछि चोरी गर्नेलाई बजगाई दाजुभाइले लखेटेका थिए ।
सोही क्रममा बजगाई दाजुभाइले खबर गरेका र प्रहरी आएपछि दुई पक्षबीच पोखरीभन्दा केही पर रङ्गशाला निमार्णस्थल नजिकै झडप भएको थियो । प्रहरीका अनुसार थापा दाजुभाइले खुकुरी प्रहार गर्दा प्रहरी जवान सुनार गम्भीर घाइते भएका छन् ।
थापा र बजगाई दाजुभाइ पनि घाइते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया