नेपाल पुलिस क्लबले मेयर कप जिते
२९ फाल्गुन २०७७, शनिबार १९:२९
काठमाडौं । नेपाल पुलिस क्लबले एपीएफमाथि ८ विकेटको नतिजाका साथ काठमाडौं मेयरकप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छकीर्ति पुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको विभागीय डर्बी फाइनलमा एपीएफले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य पुलिसले २४.१ ओभरमा सबै विकेट गुमाउँदै पूरा गरेको थियो ।
पुलिसका लागि ओपनर सुनिल धमलाले अविजित ५९ रनको योगदान गरे । सुनिलले ८२ बलमा ७ चौका र १ छक्का प्रहार गरे । एपीएफका अविनाश बोहोरा र भुवन कार्कीले समान १ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको एपीएफ २९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५ रनमा सीमित बनेको थियो । एपीएफका लागि वसन्त रेग्मीले प्रहार गरेको २२ रन व्यत्तिगत सर्वाधिक रन बन्न पुग्यो । पहिलो ३ ओभरमा ३ विकेट गुमाएपछि एपिएफ सुरुआती दबाबमा परेको थियो ।
५ रन जोड्दा २ विकेट गुमाएको एपीएफले थप ५ रन जोड्दा ओपनर शरद भेषावकरलाई पनि रन खाता नखोल्दै गुमायो । शरदलाई गुल्सनले विकेटकिपर दिलिपबाट क्याच गराएका थिए ।
चौथो विकेटका लागि सन्दीप जोरा र भुवन कार्कीले ३२ रनको साझेदारीका साथ टोलीको इनिङस उकास्ने प्रयास गरेक थिए । सन्दीपले १८ र भुवनले १४ रन जोडे । अमरसिंह रौटेला र वसन्तले आठौ विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । अमरले १८ रन जोडे ।
पुलिसका गुल्सनले ७ ओभरमा ३६ रन खर्चंदै ४ विकेट लिँदा सागरले ७.४ ओभरमा २८ रन खर्चंदै ४ विकेट लिए । पवन शराफ र ललित राजवंशीले समान १ विकेट लिए । प्रतियोगिताको विजेता पुलिसले नगद ५ लाख, उपविजेता एपीएफले ३ लाख प्राप्त गरे ।
पुलिसका दिपेन्द्रसिहं ऐरी प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी बन्दा आर्मीका कप्तान विनोद भण्डारी उत्कृष्ट ब्याटस्म्यान र बाग्मती प्रदेशका ओरियो पौडेल उत्कृष्ट बलर बने । दिपेन्द्रले नगद ५० हजार हात पार्दा विनोद र ओरियोले समान २५ हजार प्राप्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया