प्रचण्ड संसदीय दलको नेता भएको संसदमा जानकारी
२३ फाल्गुन २०७७, आईतवार १४:३८
काठमाडौं । प्रचण्ड–नेपाल समूहका नेकपा सांसदहरुले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको संसदीय दलको नेताबाट हटाएको जानकारी संसद सचिवालयलाई गराएका छन्।
उनीहरुले आइतबार दिउँसो संसद सचिवालयका महासचिव डा। भरत पौड्याललाई सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेर आफूहरुले नेकपाको संसदीय दलको नेताबाट ओलीलाई हटाई सो पदमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको जानकारी दिएका हुन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा आफूहरु महासचिव पौड्यालको कार्यकक्षमा पुगेर उनलाई सो जानकारी गराएको सांसद गणेश पहाडीले बताए। सो पक्षले शुक्रबार ओलीलाई संसदीय दलको नेताबाट हटाई सो पदमा प्रचण्डलाई चयन गरेको घोषणा गरेको थियो।
सांसद दीपकप्रकाश भट्टले ९० जना प्रतिनिधि सभा २४ जना राष्ट्रिय सभाका सांसद गरी ११४ जनाको संख्यामा रहेको र संसदका महासचिवकै कार्यकक्षमा उपस्थित रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया