भोली ३ लाख ४८ हजार डोज कोरोना खोप आउँदै – Nagarikabhiyan : National News

भोली ३ लाख ४८ हजार डोज कोरोना खोप आउँदै

काठमाडौं । ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत आइतबार उक्त परिमाणको खोप काठमाडौं आइपुग्ने जानकारी दिए ।

युनिसेफ र विस्व स्वास्थ्य संगठन नेपालको सहयोगमा स्वास्थ्य तथा जनसककख्या मन्त्रालयले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले कोभ्याक्समार्फत आउने कुल २२ लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज खोप आउन लागेको बताए ।
चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने उनले बताए । ‘चीनले दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप पनि चाँडै आउँछ, यसका लागि परराष्ट्रसँग कुरा भइरहेको छ’ सचिव अर्यालले भने ।

यसैबीच सरकारले भोलि आइतबारबाट देशभर दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
६५ वर्षमाथिका र फ्रन्टलाइनमा खटिनेहरु छुटेकालाई सरकारले यस चरणमा खोप लगाउने तयारी गरेको छ ।
मन्त्रालयका सचिव अर्यालले आइतबारदेखि दैनिक २ देखि ३ लाख नागरिकलाई खोप लगाउने लक्ष्यसहित अभियान सञ्चालन गरिने जानकारी दिए । उनले देशभरका ६ हजार खोप केन्द्रबाट खोप लगाइने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालबाट खोप लगाइ यो अभियान सुरु गर्नेछन् ।

नेपालमा ६५ वर्षमाथिको संख्या १६ लाख रहेको मन्त्रालयको तथ्यांक छ । जसका लागि नेपालले भारतको सेरम इन्सच्यिुटबाट खरिद गरेको १० लाख डोज खोप केही दिनमा आउने जनाएको छ । यस्तै कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार खोप भोलि आइपुग्ने सचिव अर्यालले जानकारी दिए । सरकारले थप ५० लाख डोज खोप सेरमबाट खरिद गर्ने तयारीसमेत गरेको छ ।