‘जनताको जीवनमा परिवर्तन ल्याउने लक्ष्यमा सरकार अघि बढिरहेको छ’
२१ फाल्गुन २०७७, शुक्रबार ११:००
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने लक्ष्यमा सरकार अघि बढिरहेको बताएका छन् । अवरोधहरु छिचोल्दै स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने काममा सक्रिय भएर लागेको प्रधानमन्त्रीको भनाइ छ ।
सुखानी स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । उनले आफ्नो नेतृत्वको सरकारले देशलाई समृद्ध र जनतालाई सुखी बनाउँदै शहीदको सपना साकार पार्ने काम गरिरहेको दाबी गरे ।
उनले गणतन्त्र स्थापनाको जग झापा आन्दोलन भएकोसमेत उल्लेख गरेका छन् । आजभन्दा ४८ वर्षअघि आजकै दिन झापा आन्दोलनका क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई कारागार सार्ने बहानामा सुखानीको जंगलमा लगी पञ्चायती सत्ताले हत्या गरेको थियो । सो घटनालाई सुखानी स्मृति दिवसको रुपमा स्मरण गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया