स्वास्थ्य मन्त्रालयको टोली धुलिखेलमा, कोरोना रोकथाम तथा नियन्त्रण कमाण्डको बैठक बस्दै – Nagarikabhiyan : National News

स्वास्थ्य मन्त्रालयको टोली धुलिखेलमा, कोरोना रोकथाम तथा नियन्त्रण कमाण्डको बैठक बस्दै

काठमाडौं । धुलिखेल अस्पतालमा एकजना सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको एउटा टोली त्यहाँ गएको छ ।

बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएपछि मन्त्रालयको टोली धुलिखेल गएको हो ।

सिन्धुपाल्चोकको बाह्रबीसेकी ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाल टेकुमा स्वाब पठाइएको छ ।

विज्ञहरुले एउटा ल्याबमा पोजेटिभ आएको अवस्थामा अर्को ल्याबमा नेगेटिभ आउन सक्ने बताएका छन् । कोरोना भाइरस (कोभिड-१९) सँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको मृत्यु भएपछि अहिले धुलिखेल अस्पताललाई सिल गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य ल्याबको रिपोर्ट कुरिरहेको छ । यसैबीच कोरोना रोकथाम तथा नियन्त्रण कमाण्ड पोस्टको बैठक पनि अहिले धुलिखेलमा बसिरहेको छ ।

उक्त बैठकमा धुलिखेल बजार नै सिल गर्नेबारेमा छलफल भइरहेको एक अधिकारीले जानकारी दिएका छन् ।