‘सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गरौं’ – Nagarikabhiyan : National News

‘सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गरौं’

काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गर्न आग्रह गरेका छन् । उनले सञ्चारमाध्यमका विश्लेषणलाई सम्मानसँगै सकारात्मक सन्देश वा शिक्षाहरु भए त्यसलाई ग्रहण गर्न पनि आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले पार्टीको आधिकारिक धारणा र नेताहरुको विचार भने नेताहरुकै मुख वा आधिकारिक ठाउँबाट बुझ्न आग्रह गरेका छन् ।

‘सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गरौं। त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गरौं। हामी उहाँहरुको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौँ र उचित पनि हुँदैन’ प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘तर पार्टीको आधिकारिक धारणा र नेताहरुको विचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझौं।’

उनले प्रतिनिधिसभा पुनर्स्थापनापछि आफूहरु अहिले संसदको अधिवेशन, सरकार, संविधानको कार्यान्वयन, समृध्दि, समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा रहेको उल्लेख गरेका छन् ।