संसद विघटन असामान्य घटना हो : सीके राउत
९ फाल्गुन २०७७, आईतवार १३:५०
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधि सभा विघटनलाई असामान्य घटना भनेका छन् । रूपन्देहीको भैरहवामा आज (आइतबार) लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा राउतले जनताले दुई तिहाइ मत दिएको अवस्थामा काम गर्न बाधा पुगेको भन्नुपर्ने आधार नभएको बताए ।
‘सरकारी पक्ष र विपक्षी सडकमा छन्,’ उनले भने, ‘यस्तो अवस्थामा राजनीतिबाट हामीले के अपेक्षा गर्ने ? यो आजको प्रश्न हो । करिब दुई तिहाइ पाएको बेला सरकार चल्दैन भने अब हामीले के गर्ने ?’
नेपालमा व्यवस्था धेरै फेरिएको तर अवस्था नफेरिनुमा सही व्यक्ति चयन गर्न नसक्नु कारण रहेको उनले बताए ।
अहिले बुद्धिजीवी, पत्रकारलगायतले नागरिक आन्दोलन सुरु गरेको भन्दै उनले यस्तो आन्दोलन दलविशेषको हुन नहुनेमा जोड दिए । पर्दापछाडिका शक्तिबाट नेपालको राजनीति नियन्त्रित रहेको भन्दै राउतले जनप्रतिनिधिले जनताको अपेक्षा पूरा नगरे फिर्ता बोलाउन पाउनुपर्ने र त्यो अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया