देउवालाई पौडेलको जवाफ– पैसाको अभावले आन्दोलन रोकिन्न – Nagarikabhiyan : National News

देउवालाई पौडेलको जवाफ– पैसाको अभावले आन्दोलन रोकिन्न

इटहरी । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाकै कारणले आन्दोलन नरोकिने बताएका छन् । सभापति शेरबहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै पौडेलले पैसाको कारणले सरकारको असंवैधानिक कदम विरुद्धको आन्दोलन नरोकिने बताएका हुन् ।

नेपाल प्रेस सुनसरी सुनसरीले आज (आइतबार) विहान इटहरीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । देउवाले नेपाल मगर संघ गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै बिहीबार आन्दोलनका लागि कांग्रेससँग पैसा नभएको बताएका थिए ।

त्यसको जवाफमा आज पौडेलले आन्दोलन पैसा होइन विचारले हुने भन्दै सभापति देउवाको आलोचना गरे । सर्वोच्चको फैसला नेपाली कांग्रेसले मान्ने बताएका उनले प्रधानमन्त्री ओलीको पनि आलोचना गरे । पौडेलले भने, ‘प्रधानमन्त्रीले अदालतलाई धम्की दिदै जाँदा देशले साँच्चै नेतृत्व नपाएको अभाव भएको छ।’

कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको आरोपसमेत पौडेलले लगाएका छन् । उनले सभापति देउवाले आफ्ना कुरा नसुन्दा कांग्रेस कमजोर बनेको बताए । उनले प्रदेश सरकारविरुद्ध प्रचण्ड–माधव पक्षीय नेकपाले दर्ता गराएको अविश्वास प्रस्तावमा साथ दिनुपर्ने आफ्नो प्रस्ताव पनि देउवाले नसुनेको बताए ।