प्रदेश २ प्रमुखमा राजेश झा नियुक्त, तिलक परियार पदमुक्त
७ फाल्गुन २०७७, शुक्रबार १८:४७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी छिन् । उनले आज मन्त्रिपरिषदको सिफारिसमा झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् झाको प्रदेश प्रमुखमा नियुक्तिबारे जानकारी गराएको छ । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।
यसअघि राष्ट्रपति भण्डारीद्वारा प्रचण्ड निकट तिलक परियार प्रदेश २ को प्रमुखबाट पदमुक्त गरिएका थिए । राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् परियारलाई पदमुक्त गरिएको जानकारी दिएको थियो । उनलाई संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम प्रदेश नं. २ को प्रदेश प्रमुखबाट पदमुक्त गरिएको जनाइएको छ । परियार २०७६ कात्तिक १८ गते प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
परियार नेकपा अध्यक्ष प्रचण्डनिकट हुन् । उनलाई पदमुक्त गर्नुले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच टकराव झन् बढ्ने देखिएको छ । नेकपा विभाजन भएपछि ओली र प्रचण्ड एक अर्कालाई कमजोर बनाउन लागेका छन् । प्रदेशहरुमा मुख्यमन्त्रीहरुविरुद्ध धमाधम अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश ३ र १ मा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । दुवै प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् । प्रतिनिधिसभा भंग पछि बदलिएको राजनीतिक परिस्थितिमा प्रदेश प्रमुखलाई हटाइनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
पद मुक्त भएपछि परियारले यो संघीयतामाथिको प्रहार भएको बताएका छन् । अहिलेको अवस्थामा यसो गरिनु ‘कु’ कै प्रयास भएको उनको बुझाई छ ।
परियारले राजनीतिक प्रतिशोधका कारण आफूलाई पदमुक्त गरिएको बताए । उनले कानुनी व्यवस्था केही छ भन्ने पदमुक्तको मामिलामा सर्वोच्च अदालतमा अपील गर्ने पनि बताए ।
उनले भने,‘पदमुक्त गरिएको राष्ट्रपति कार्यालयबाट इमेल आएपछि झसङ्ग भएँ ।’ उनले पदमुक्त गरिएको मामिलामा राष्ट्रपति कार्यालयले इमेलबाटै जानकारी गराएको र अहिलेसम्म फोनमा कुनै प्रकारको खबर नगरेको पनि बताए ।
उनले पूर्वमाओवादी घटकबाट पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा प्रदेश प्रमुख नियुक्ति भएको बताउँदै त्यसैले पूर्वाग्रह सोच राखेर पदबाट मुक्त गरिएको आशंका गरे ।
काँग्रेसको विरोध
राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई गरेको बर्खास्तको नेपाली काँग्रेसले भत्र्सना गरेको छ । काँग्रेसको तर्फबाट प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखको शुक्रवार गरिएको बर्खास्त र नयाँ नियुक्तिको विरोध र भत्र्सना गरेका हुन् ।
’अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढङ्गले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहोराएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरूपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ’ विज्ञप्तिमा उल्लेख छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया