बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाँदै प्रचण्ड–माधव पक्ष – Nagarikabhiyan : National News

बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाँदै प्रचण्ड–माधव पक्ष

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ’प्रचण्ड’–माधवकुमार नेपाल पक्ष पार्टीको बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने भएको छ । सबै पार्टी सदस्यलाई नागरिकतासहित उपस्थित हुनका लागि नेकपाले आग्रह गरेको छ ।

यसका लागि आज (शुक्रबार) पार्टी कार्यालय पेरिसडाँडामा सबै केन्द्रीय सदस्यलाई उपस्थित हुन निर्देशन पठाइसकिएको नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए ।

’सबै केन्द्रीय सदस्यलाई बिहान ११ बजे उपस्थित हुन निर्देशन पठाइसकिएको छ । अध्यक्षद्वयको निर्देशनअुनसार बैठक बोलाइएको हो,’ उनले भने । ११ बजे सुरु हुने बैठक सकिएपछि निर्वाचन आयोग जाने तयारी रहेको बताइएको छ ।

निर्वाचन आयोगले म्याद आधिकारिकताबारे निर्णय गर्न आलटाल गरेपछि प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरू नागरिकतासहित उपस्थित गराउने तयारी गरेको हो । एक सचिवालय सदस्यका अनुसार आयोगले आधिकारिकता दिन आलटाल गरेपछि बहुमतसिद्ध गर्न खोजिएको हो ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधि सभा विघटनको कदम उठाएपछि सत्तारूढ पार्टी नेकपा विभाजित भएको थियो । विभाजित प्रचण्ड–माधव समूह अहिले सडक संघर्षमा छ ।

निरन्तर संघर्षमा रहेको यो समूह अहिले चौथो चरणको आन्दोलनमा छ । आजको बैठकमा आन्दोलनको समीक्षा गरिने बताइएको छ ।