संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार दिएको छैनः वरिष्ठ अधिवक्ता खरेल – Nagarikabhiyan : National News

संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार दिएको छैनः वरिष्ठ अधिवक्ता खरेल

काठमाडाैं । संसद विघटन राजनीतिक नभई संवैधानिक विषय भएको एमिकस क्युरिको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले जनाएका छन् ।

संसद विघटनविरुद्धमा सर्वोच्चमा परेको रिटमाथि एमिकस क्युरिको तर्फबाट राय पेश गर्ने क्रममा अधिवक्ता खरेलले यस्तो जनाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन राजनीतिक विषय भएकाले कानुनी ‘रिभ्यु’ हुन नसक्ने जनाएका थिए । जसमा अधिवक्ता खरेलले संसद विधटन संवैधानिक विषय नै रहेको राय पेश गरेका हुन् ।

प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका निजी वकिल र सरकारी कानुन व्यवसायीले इजलासलाई संसद विघटन राजनीतिक विषय रहेको र यो संवैधानिक विषय नभएकाले सुनुवाई गर्न नमिल्ने तर्क राखेका थिए ।

मन्त्री कसलाई नियुक्त गर्ने भन्ने विषय राजनीतिक निर्णय हुने भन्दै अधिवक्ता खरेलले भने ‘संसद विघटन संवैधानिक प्रश्न हो । यसलाई राजनीतिक प्रश्न भन्न मिल्दैन ।’ तर, संसद पुनर्स्थापना भएमा प्रधानमन्त्री बन्न सक्ने नसक्ने राजनितिक विषय भएको उनले जनाए ।

नेपाल बार र सर्वोच्च बारबाट इजलासले मगाएका ५ एमिकस क्युरीमध्ये इजलासमा राय राख्ने खरेल दोस्रो हुन् । मंगलबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राय राखेका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यस निर्णयका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा निवेदन परेका थिए । ती निवेदनमाथि माघ ४ देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा नियमित सुनुवाइ भइरहेको छ ।