नेकपा प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा – Nagarikabhiyan : National News

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-नेपाल समूहले चौथो चरणको कार्यक्रम घोषणा गरेको छ ।

केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रमअनुसार, फागुन ५ देखि १२ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन लगायतको विरोध कार्यक्रम, फागुन ६ गते प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेलमा मानव साङ्लो विरोध कार्यक्रम गर्ने जनाएको छ ।

७ गते सबै वडामा विरोध कार्यक्रम गर्नेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने सहसंयोजक योगेश भट्टराईले जानकारी दिए । यस्तै फागुन ८ गते काठमाडौंमा बृहत अन्तर्क्रिया र ९ गते प्रतिगमन, महिला हिंसाको विरोधमा देशभर महिलाहरुको बृहत प्रदर्शन हुने उनले बताए ।

१० गते दलित मोर्चा र ११ गते उत्पीडित समुदायको अगुवाईमा प्रदर्शन हुनेछ भने १४ गते युवा र १५ गते किसान र सुकुम्बासीहरुको अगुवाइमा र्याली प्रदर्शन गरिने संघर्ष समितिले जनाएको छ ।

यस्तै, चितवन, दाङ, जनकपुर र नेपालगञ्जमा सभा गर्ने निर्णय भएको छ । तर, चितवनमा १२ र दाङमा २१ गते सभा हुनेछ भने जनकपुर र नेपालगञ्जको मिति तोक्न बाँकी रहेको छ ।