भागरथीका हत्यारा पक्राउको माग राख्दै नेविसंघद्वारा प्रदर्शन – Nagarikabhiyan : National News

भागरथीका हत्यारा पक्राउको माग राख्दै नेविसंघद्वारा प्रदर्शन

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले बलात्कार पछि हत्या गरिएकी भागीरथी भट्टको न्यायका निम्ति दबाब मूलक विरोध प्रदर्शन गरेको छ । आइतबार केन्द्रीय उपाध्यक्ष तुलसा पन्तको संयोजनमा नेविसंघले बैतडी जिल्ला दोगडा केदार गाउँपालिका वडा नं ७ चडेपानीमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टका बलात्कारी र हत्यारा पत्ता लगाउन भन्दै काठमाडौँमा प्रदर्शन गरेको हो ।

अध्यक्ष राजीव ढुङ्गानाको उपस्थितिमा भएको प्रदर्शनमा पूर्व महामन्त्री प्रतिमा गौतम, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, प्रेमिका राना खतिवडा, रुपा पोखरेल लगायतले हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका थिए । विरोध प्रदर्शन पद्मकन्या क्याम्पस हुँदै पुतलीसडक पुगेर कोणसभामा परिणत भएको थियो ।

मुलुक भित्र होस् या बाहिर नेपाली चेली कहीँ पनि सुरक्षित नरहेकोले सबै चेलीको सुरक्षाको माग गर्दै दबाबमूलक कार्यक्रम गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिएका छन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘घटना जहाँ सुकै घटोस् अपराधी जुन सुकै देशका किन नहुन् अपराधीलाई कारबाही हुनुपर्छ।’ केही दिन अघि भारतको विहारमा १२ वर्षीय नेपाली चेलीको सामूहिक बलात्कार, हत्या र प्रहरीकै सहयोगमा प्रमाण नष्ट गर्न जबरजस्ती शव जलाउन बाध्य बनाइएको भन्दै उनको न्यायको लागि पनि आफूहरू लड्ने भट्टराईले बताए ।

कञ्चनपुरकी निर्मला पन्तका हत्यारा लामो समय देखि पत्ता नलागेको अवस्थामा पुनः सोही प्रकृतिको घटना घटेकाले अपराधी उम्किन नपाओस् भन्नका लागि आन्दोलन चर्किँदै गएको हो ।