आज जनयुद्ध दिवस : प्रचण्ड–माधव नेकपादेखि विप्लव सम्मले मनाउँदै – Nagarikabhiyan : National News

आज जनयुद्ध दिवस : प्रचण्ड–माधव नेकपादेखि विप्लव सम्मले मनाउँदै

काठमाडौं । तत्कालिन विद्रोही नेकपा (माओवादी)ले जयुद्ध सुरु गरेका आज २५ वर्ष पूरा भएको छ । वि.सं. २०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र जनविद्रोह २०६२/६३ को जनआन्दोलनसँगै अन्त्य भएको थियो ।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो ।

१० वर्ष चलेको चलेको जनयुद्धमा राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नागरिकले ज्यान गुमाएका बताइन्छ । २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतापछि शसस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।

तर जनयुद्धको हाँकेका तत्कालिन माओवादीका नेताहरु भने अहिले सम्पूर्ण रुपमा विभाजित भइ विभिन्न राजनीतिक दलमा सक्रिय छन् । प्रचण्ड नेकपाका अध्यक्ष छन् । विप्लवले सरकारले प्रतिबन्ध गरेको नेकपाको नेतृत्व लिएका छन् । मोहन वैद्य किरणको अलग्गै पार्टी छ । बादल ओली समूहमा गएका छन् ।

जनयुद्धमा सामेल भइ अहिले फरक–फरक राजनीतिक दलको नेतृत्व गरेका नेताहरुले जनयुद्ध दिवस छुट्टाछुटै मनाउँदैछन् । नेकपाको प्रचण्ड–माधव नेपाल समूहले आज जनयुद्ध दिवस मनाउँदैछ । दिवस भव्यताका साथ मनाउनका लागि प्रचण्ड–माधव समूहले पार्टीका जिल्ला कमिटीहरुलाई हिजो सर्कुलर नै जारी गरेको छ ।

यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि ‘जनयुद्ध दिवस’ मनाउँदैछ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले पनि जनयुद्ध दिवसलाई मनाउने भएको छ ।

बादलसमेत रहेका प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले भने जनयुद्ध दिवस नमनाउने भएको छ । ओलीले जनयुद्धलाई हिंसात्मक गतिविधिका रुपमा अर्थ्याउँदै आएका छन् ।