भोलिदेखि पुनः वर्षा र हिमपातको सम्भावना – Nagarikabhiyan : National News

भोलिदेखि पुनः वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले बिहीबार वाग्मती, गण्डकी र प्रदेश १ मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ ।

पश्चिमी वायुको प्रभावले शुक्रबारबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए । ‘शुक्रबारदेखि आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ’, उनले भने ।

मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावले ठूलो पानी पर्ने सम्भावना नरहे पनि हिमपातका कारण तापक्रम घट्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाभित्र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु–कुहिरो लाग्नसक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
हाल देशभर मौसम सामान्यतया सफा रहेको छ र तराई तथा पहाडका केही भू–भागमा हुस्स–कुहिरो लागेको छ। दिउँसो वाग्मती, गण्डकी र प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ ।