बहुमत नआए तीन महिनामै पुनः विघटन गर्ने ? : न्यायाधीश
२९ माघ २०७७, बिहीबार १४:०९
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा जारी बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बाबुराम दाहाल, पंकज कर्ण लगायतका अधिवक्ताले बहस गरेका छन् । बहसका क्रममा न्यायाधीश र अधिवक्ताहरुबीच प्रतिनिधि सभा विघटनबारे सवाल जवाफसमेत भएको छ ।
अधिवक्ता दाहालले संविधानले शक्तिशाली प्रधानमन्त्रीको कल्पना गरेको भन्दै लुते, लाङग्रे प्रधानमन्त्रीको कल्पना नगरेको तर्क राखे । ‘यो चीनको व्यवस्था होइन, यहाँ पार्टीले सरकार चलाउनुपर्छ भनेर कही लेखेको छैन । प्रधानमन्त्रीले आफ्नै तरिकाले चलाउन पाउनुपर्छ’, दाहालको भनाई थियो । अधिवक्ताले यस्तो बहस गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ‘ससदीय दलको नेता पनि हो प्रधानमन्त्री, त्यसको विधान पनि छ । उहाँ त्यहीँबाट चुनिएर गएपछि दलको विधान मान्नु पर्दैन ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा दाहालले ‘मैले त्यो भन्न खोजेको होइन, प्रतिनिधि सभामा १७४ जना सांसद ओलीको बलबुताले पाएको बहुमत हो’ भन्ने जवाफ दिए । उनले प्रममा ओलीको विकल्प नभएको भन्दै संसदले प्रमलाई असहयोग गरेको बताए ।
‘संसदले सहयोग गरेन, ३७ वटा विधेयक खारेज भए । रेलवे विधेयक पास नभएर घुम्टो ओढाएर राख्नुपरेको छ’, दाहालको भनाई छ । उनले संवैधानिक निकायमा नियुक्तिका लागि पनि सहयोग नभएको बताए । ‘अब यसरी सहयोग नै नगरेपछि के प्रधानमन्त्री रुदै घरघर जाने ? काम गर्न नसकेको होइन, नपाएको हो’, दाहालले दलिल पेश गरे । नेकपाको अर्को समूहले प्रधानमन्त्री बन्न नपाएर नै ओलीलाई काम गर्न नदिएको तर्क दाहालको थियो ।
त्यसपछि, न्यायाधीश अनिलकुमार सिन्हाले चुनाव भएर दुई तिहाई कसैको पनि आएन भने के फेरि संसद विघटन हुन्छ ? त्यो संवैधानिक हुन्छ कि हुदैन ? भनेर प्रश्न सोधे । उनले ‘अब प्रधानमन्त्रीबाहेकको पार्टीको बहुमत आएर त्यो पार्टीले फेरि तीन महिनामै विघटन गर्छु भन्यो भने देश कता जान्छ ?’ सिन्हाको प्रश्न थियो । दाहालले ‘मैले यस्तो भन्न खोजेको होइन श्रीमान्’ भन्ने जवाफ दिए ।
सिन्हापछि बोलेका अधिवक्ता दाहालले निर्वाचन आयोगले निर्वाचनको तयारी गरिरहेका बेला नेकपाको अर्को समूहले तयारी नगर भनेको भन्दै अदालतले निर्णय गरे आयोगले निर्वाचन प्रक्रिया कार्यक्रम अघि बढ्ने बताए ।
प्रधानन्यायाधीश राणाले पुनः ‘अदालतको निर्णय आयोगलाई किन चाहियो ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा दाहालले ‘सहजताको लागि’ भन्ने जवाफ दिए । दाहालअघि पंकज कर्ण र धर्मराज रेग्मीले बहस गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया