नारायणहिटीमा आज आमसभा हुनुको कारण ओलीपक्षले गर्याे खुलासा – Nagarikabhiyan : National News

नारायणहिटीमा आज आमसभा हुनुको कारण ओलीपक्षले गर्याे खुलासा

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा जनसभा आयोजना गरी ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ ।

काठमाडौंको नारायणहिटीमा भएको सभामा शीर्ष नेताहरुले अब निर्वाचनले मुलुकको फैसला गर्ने भन्दै मुलुक निर्वाचनउन्मुख भएको बताएका छन् ।

नेकपाको बागमती प्रदेश कमिटीले नारायणहिटी दरबार सङ्ग्रहालयको अगाडिको सडकमा आयोजना गरेको सभामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका सचिवालय सदस्यद्वय उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालगायत नेताले मुलुकको समृद्धि र स्थायित्वका लागि ताजा जनादेशको विकल्प नभएकाले मुलुक निर्वाचनमा होमिएको बताएका हुन्।

सभामा सहभागी हुन यस प्रदेशका १३ जिल्लाका साथै देशभरिबाट नेकपाका नेता कार्यकर्ता आएका थिए ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले निर्वाचनको विरोधमा कार्यक्रम गर्दै आएकामा आज नेकपाले निर्वाचनका पक्षमा प्रदर्शन गरेको हो ।

सभा शुरु हुनुभन्दा अगाडि काठमाडौँका विभिन्न १६ ठाउँबाट विविभ भेषभूषासहित झाँकीसहित ¥याली निकालिएको थियो ।

मुलुक ताजा जनादेशमा जाने भनेपछि नेकपाको सभामा स्वतःस्फूर्त रुपमा अन्य पार्टी समर्थित मानिसको पनि सहभागिता रहेको आयोजकले जनाएको छ । आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ ।