सर्वसत्तावाद उन्मुख विघटन विरुद्धको आन्दोलन थप सशक्त बनाउन कांग्रेसको अपिल
२३ माघ २०७७, शुक्रबार १८:४०
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको सर्वसत्तावाद उन्मुख विघटनको विरुद्ध थप सशक्त आन्दोलन बनाउन कांग्रेसको अपील गरेको छ । सरकारको असंवैधानिक कदमविरुद्ध कांग्रेसले शान्तिपूर्ण आन्दोलन गरिरहेको भन्दै जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्नका दृढ रहेको र शान्तिपूर्ण विरोध प्रदर्शनका लागि अपिल गरेको छ ।
नेकपाको सरकार बनेपछि जनविरोधी कदम र प्रवृत्ति देखिए पनि आफूहरु सडक र सदनमा शालीन ढंगले प्रस्तुत भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।
उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “नेकपाको सरकार बनेपछि जनविरोधी कदम र प्रवृत्ति विरुद्ध नेपाली कांग्रेस संसद् र सडक दुवै ठाउँमा शालीन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं । संसद् विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौं । विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिलसमेत गर्न चाहन्छौं ।”
‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावादउन्मुख प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ’, विज्ञप्तिमा भनिएको छ।न्यूज२४बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया