धरानमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र यातायात मजदुरबीच झडप
२२ माघ २०७७, बिहीबार १२:१८
धरान । नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ता र यातायात मजदुरहरुबीच आज बिहान धरानमा केहीबेर सामान्य झडप भएको छ ।
बन्द उल्लंघन गरेको टेम्पोलाई रोकेर लात्ती प्रहार गरेको विषयमा बन्दकर्ता र यातायात मजदुरहरुबीच तनाव उत्पनन्न भएको थियो । लगत्तै बन्दकर्ताहरुले टायर बाल्न खोजेपछि यातायात मजदुरहरुले खोसेर फालिदिदा दुवै पक्षबीच सामान्य झडप भएको थियो । टायर खोसाखोस हुँदा स्थिति तनावपुर्ण बनेको थियो ।
प्रहरीले भने झडप हुन नदिइएको जनाएको छ । प्रहरी निरीक्षक हेमराज ओलीको कमाण्डमा धरानको भानुचोक क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यातायात मजदुरसँगको झडप पछि पनि पुनः प्रहरी र बन्दकर्ताहरुबीच झडप भएको थियो । बन्द उल्लंघन गरेको भन्दै ट्रिपरलाई लाठी प्रहार गरेपछि प्रहरीले युवा संघका धरान नगर सहसंयोजक विजय तामाङलाई पक्राउ गरेको छ ।
धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले भने पानीको गाडीको सिसा फुटाएको कारण एक जनालाई पक्राउ गरिएको बताए । प्रचण्ड माधव समुहको आन्दोलन परिचालन समितिका सहसंयोजक चोत्लुङले भने बन्द उल्लंघन गरेर गाडी आएकोले रोकेर सम्झाउने क्रममा कसैले प्रहार गरेको तर प्रहरीले विजयलाई पक्राउ गरेको बताए । उनले उनलाई तत्काल रिहा गर्न पनि माग गरेका छन ।नागरिक दैनिक

फेसबुकबाट तपाईको प्रतिक्रिया