संसद विघटनबारे नयाँ कुराको खुलासा, प्रधानमन्त्रीलाई राहत ! – Nagarikabhiyan : National News

संसद विघटनबारे नयाँ कुराको खुलासा, प्रधानमन्त्रीलाई राहत !

काठमाडौं। संविधानले संसद विघटन गर्न नदिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटनलाई असंवैधानिक कदम भनेर चौतर्फी विरोध भएका बेला नयाँ तथ्य बाहिर आएको छ ।

नेपालको संविधानको धारा ७४ ले संसदीय प्रणालीसहित संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेको छ । संघीय प्रणाली गरेको नेपालको संविधानमा प्रधानमन्त्री विघटन गर्न पाइँदैन भनेर उल्लेख पनि गरिएको छैन । यस्तो अवस्थामा संसदीय प्रणालीमा विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीमा अन्तरनिहित हुने खुलेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजालसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्दै संसदीय व्यवस्थामा प्रधानमन्त्रीले चाहेको बेला संसद विघटन गर्न सक्ने अभ्यास प्रस्तुत गरे ।
प्रधानमन्त्रीलाई यस्तो अधिकार दिन नचाहने देशले संविधानमै नपाइने भनी उल्लेख गरेको तर नेपालमा भने संसद विघटन गर्न नपाइने भनी संविधान कानुनमा नलेखिएको पन्तले जानकारी गराए ।

पन्तका अनुसार संसदीय व्यवस्थामा दुईवटा अधिकार प्रधानमन्त्रीमा अन्तरनिहीत हुन्छ । त्यो लुकेर बसेको मान्यतासहितको अधिकार हो । पहिलो–आफ्ना मन्त्रीहरुलाई डिसमिस अर्थात हटाउने र अर्को, पार्लियामेन्ट डिजल्भ अर्थात संसद विघटन गर्न पाउने अधिकार ।

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई निर्वाचन जित्छु भन्ने आत्मविश्वास भए पनि संसद विघटन हुन सक्ने पन्तको तर्क थियो । ‘संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई लागेपछि विघटन हुन्छ । म यस्तो बेला चुनाव जित्छु भनेर समेत विघटन गरेर चुनाव गर्छु भन्न पाउँछ । प्रधानमन्त्रीले जतिबेला पनि गर्न पाउँछ,’ उनले भने, ‘मैले यो अर्थमा भनिरहेको छु कि हामी संसदीय व्यवस्थामा छौ । यदि हामी संसदीय व्यवस्थामा छौं भने प्रधानमन्त्रीसंग त्यो अधिकार छ ।’

नेपालको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाइँदैन भन्ने उल्लेख नभएको पन्तको भनाइ छ । पन्तले वेस्ट मिन्स्टर सिस्टम र क्याविनेट सिस्टमबारे व्याख्या गर्दै त्यसलाई संसदीय प्रणालीमा जोडेर प्रधानमन्त्रीसँग विघटनको अधिकार रहेको जिकिर गरे ।