ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर – Nagarikabhiyan : National News

ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

गलकोट । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनाैं काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तनहुँ जिल्ला, दमौलीमा भवन निर्माणको काम गरेका पर्वत र बागलुङका मजदूर ठेकेदार भागेपछि भोकभोकै पाँच दिन हिँडेर घर फर्किएका छन् ।

पर्वतका आठ मजदूर र बागलुङ, बडिगाड गाउँपालिका–१ जिमीका ३८ वर्षीय नुनबहादुर श्रीस दमौलीबाटै पैदल हिँडेर गृह जिल्ला आइपुगेका छन् । एक महिना १९ दिन लगाएर ठेक्कामार्फतको प्रहरीचौकी भवन निर्माणमा काम गरेका उनीहरु ठेकेदार भागेपछि अलपत्र परेका थिए । मङ्गलबार साँझ घरबेटीले आफूहरु बस्ने कोठामा ताल्चा लगाएपछि हिँडेर पर्वतका आठ साथी नयाँ पुलसम्म र आफू बागलुङसम्मै एक्लै हिँडेर आएको मिस्त्री श्रीसले बताए। रामेछापका निर्माण व्यवसायी दिलीप राईले उनीहरुलाई काममा लगाएको बताउछन् ।

दमौलीबाट प्रहरीले पोखरा आउने गाडीमा चढाइदिए पनि केही यता आएपछि भाडा मागेर पैसा नभएपछि बीच बाटामै झारिदिएको उनको कथन छ । श्रीसले गाउँमै मजदूरीको काम गर्दै आए पनि दिनको रु एक हजार पाइने लोभले ठेकेदारका सम्पर्कमा आएर दमौली पुगेको बताए । लगातार पाँच दिन कालोपत्र सडकमा पैदल हिँड्दा प्रकाशका पैताला फुटेका छन् । “पोखरामा पानी माग्दासमेत कसैले दिएनन्, बाटामा फालेको चाउचाउको सुप पानीमा घोलेर खाँदै हिँड्याैं, माघको जाडोमा प्रतीक्षालयमा सुत्दै बागलुङ आइयो”, उनले भने ।