जनकपुरको यातायात कार्यालयमा अख्तियारको छापा, करिब ३ लाख घुस सहित दुईजना पक्राउ – Nagarikabhiyan : National News

जनकपुरको यातायात कार्यालयमा अख्तियारको छापा, करिब ३ लाख घुस सहित दुईजना पक्राउ

महोत्तरी । जनकपुरको यातायात व्यवस्था कार्यालयमा गएराति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महोत्तरीको टोलीले छापा मारेको छ ।

छापा मारेर टोलीले पौने ३ लाख बराबरको रकम सहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लिएको छ ।

स्काभेटर र लोडरको लाइसेन्सका लागि सञ्चालित अन्तिम परीक्षामा सहभागी हुने परीक्षार्थीबाट दुवैजनाले घुस लिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार कापरको कोठा खानतलासी गर्दा २ लाख २३ हजार ८५० र भगतको साथबाट ५० हजार रुपैयाँ गरी कुल २ लाख ७३ हजार ८५० रुपैयाँ बरामद भएको हो ।

यातायात व्यवस्था कार्यालय, जनकपुरधामको कार्यालय परिसरबाटै मंगलबार दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।