जाडो बढेपछि जेष्ठ नागरिकलाई सिरक – Nagarikabhiyan : National News

जाडो बढेपछि जेष्ठ नागरिकलाई सिरक

इनरुवा । जाडो बढेपछि सुनसरीको गढी गाउपालिकाका जेष्ठ नागरिकलाई सिरक वितरण गरिएको छ । गढी गाउँपालिका वडा नम्बर १ र २ का ६० वर्ष माथिका ८० जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा सिरक वितरण गरिएको हो ।

गढी गाउँपालिकाले पहिलो प्रथामिकतामा मुसहर तथा दलित वस्तीका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । दलित विपन्न तथा मुसहर वस्तीका ८० जना जेष्ठ नागरिकलाई न्यानो कपडा तथा ओढ्ने सिरक र ओछ्याउने कपडा वितरण गरिएको अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिनुभयो ।

सुनसरीको सदरमुकाम इनरुवा सहित जिल्लाभर नै केहीदिनयता अत्याधिक चिसोको कारणले जनजीवन प्रभावित भएकाले गढीका जेष्ठ नागरिकलाई सिरक वितरण गरिएको यादवले बताउनुभयो । केही दिन यतादेखि अत्याधिक चिसो शितलहर तथा जाडो बढेको कारणले प्रभाववित भएकाले जेष्ठ नागरिकलाई जोगाउन र न्यायोका लागि सिरक वितरण गरिएको छ । जिल्लामा चिसो बढेसँगै इनरुवा, इटहरी, दुहवी, लौकही, औरावनी, भाण्टाबारी सहितको बजारमा मानवको चहलपहल कम भएको छ ।

स्थानीय जेष्ठ नागरिक लालो सदाले जाडोमा न्यानो कपडा पाउँदा खुशी लागेको बताउनुभयो । अर्का बद्री सदाले भन्नुभयो–‘हामीलाई सम्झेर आउनुभयो, जाडोको कपडा दिनुभयो । पालिका प्रति अभारी छु’।

१ , सुनसरीको गढी गाउँपालिकाका जेष्ठ नागरिकलाई सिरक वितरण गर्नुहुदै गढी अध्यक्ष श्रीप्रसाद यादव । तस्विर : जयकृष्ण यादव ।इनरुवा