फौजी किराले मकैं किसान चिन्तित – Nagarikabhiyan : National News

फौजी किराले मकैं किसान चिन्तित

इनरुवा ।  सुनसरीको किसानले लगाएको मकैंबालीमा फौजी किराले सखाप पार्न थालेपछि पश्चिम तथा दक्षिणी भेगका किसान चिन्तित भएका छन् । सदरमुकाम इनरुवा सहित विभिन्न गाउँपालिकामा लगाउदै आएको व्यावसायिक मकै खेतीमा फौजी किराले सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् ।

सदरमुकाम इनरुवाको बबिया, मधेसा, जल्पापुर, डुम्राहा सहित हरीनगर गाउँपालिका, कोशी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, गढी गाउँपालिका सहितका क्षेत्रमा फौजी किराको प्रकोप देखिएको किसानहरुको गुनासो छ ।
रातको समयमा सक्रिय हुने फौजी किराले मकैको पातबाट खान सुरू गरेर पुरै मकैको वोट नष्ट गरिरहेको यदुवशीं कृषक समूहका अध्यक्ष जसलाल यादवले गुनासो गर्नुभयो ।

अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा फौजी किराले हालसम्म दुई हजार दुई सय बढी हेक्टर क्षेत्रफलमा लगाइएको उन्नत जातका र हाइब्रिड जातको मकै खाएर नष्ट पारेको यादवले जानकारी दिनुभयो ।
दिनदिनै किराको प्रकोप बढ्न थालेपछि इनरुवा ९ बबियाका किसान चिन्तित बनेका अर्का किसान बेचन यादवले बताउनुभयो ।

इनरुवा नगरपालिका सहित विभिन्न गाउँपालिकामा समेत फैजी किराको प्रकोप बढ्न थालेपछि किसान चिन्तित बनेका भोक्राहाका किसान सुरेन्द्र मेहताले गुनासो गर्नुभयो ।

लकडाउनका कारणले कृषि ज्ञान केन्द्रमा अनुगमनका लागि फौजी किरा प्रभावित क्षेत्रका किसानलाई विषादी उपलब्ध गराउन माग गरिएपनि कुनै सुनुवाई नभएको मेहताको भनाई ।

यता कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवले लकडाउनका कारणले समस्या भएको बताउनुभयो । कृषि ज्ञान केन्द्र सुनसरीमा फौजी किराको आतङ्क नियन्त्रण गर्न प्रभावित क्षेत्रका किसानको आग्रह र माग भएपनि प्रभावकारी औषधि पठाउन नसकिएको जानकारी दिनुभएको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख उराँवले फौजी किरा प्रभावित इनरुवा, देवनागञ्ज र भोक्राहामा किराले रातको समयमा बढी क्षति पु¥याउने भएकाले रातकै समयमा विषादी छर्कन सुझाव दिएपनि बोट ठूलो भएकाले समस्या भएको बताउनुभयो ।