न्यायिक समितिमा आउने मुद्दा मेलमिलापबाट समाधान
२४ पुष २०७७, शुक्रबार १७:४१
इनरुवा । सुनसरीको रामधुनी नगरपालिकाको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ । न्यायिक समितिले आफनो क्षेत्राधिकार भित्र पर्ने मुद्दाहरुको उजुरी लिने, सुनवाई गर्ने, छलफल गर्ने, मेलमिलाप गराउने र फैसला समेत गर्ने गरेकोले समिति प्रभावकारी बन्दै गएको छ ।
न्यायिक समितिका संयोजक तथा नगरपालिकाकी उपप्रमुख सविना चौधरीले रामधुनी नगरक्षेत्रमा सबैभन्दा बढी जग्गा सम्वन्धी विवाद र बाटोघाटो सम्वन्धि समस्याका मुद्दाहरु आउने गरेको बताईन् ।
उनले रामधुनी नगरपालिका न्यायिक समितिमा आर्थिक वर्ष २०७६÷०७७ को एक वर्ष अवधिमा ४७ वटा उजुरी तथा निवेदनहरु दर्ता भएकोमा ८० प्रतिशत जग्गा र बाटो सम्वन्धि विवाद रहेको जानकारी दिईन् । नगरपालिकामा आएको मुद्दामध्ये २८ वटा मिलापत्र भएको, ११ वटा छलफल प्रक्रियामा रहेको, एउटा फैसला गरेको र त्यसको पुर्नरावेदन जिल्ला अदालतमा गएको, ४ वटा निवेदनकर्ता सम्र्पकमै नआएको अवस्था रहेको बताईन् ।
नगरपालिकामा फिरादपत्र सहितको निवेदन नौ वटा आयो भने ठाँडो निवेदनमा ३८ वटा गरी कुल ४७ वटा निवेदन दर्ता भएको चौधरीले बताईन् । यस आर्थिक वर्षमा बन्दाबन्दी भएकाले कम उजुरी आएको समेत जानकारी दिईन् । यसैबीच चालु आर्थिक वर्षमा साउनदेखी पुस २० सम्म ३२ वटा निवेदन न्यायिक समितिमा प्राप्त भएको चौधरीले बताईन् । समस्याकोबीचमा न्याय सम्पादन तथा निरुपण गर्ने कार्य गर्दै आएकोमा बढी तनाव जग्गा र लेनदेनको बिषयमा आउने उजुरीले गरेको उनले बताईन् ।
रामधुनी नगरपालिकामा तीन आर्थिक वर्षदेखी न्यायिक समितिले स्थानीय स्तरमै मेलमिलाप र छलफलको माध्यमबाट मुद्दाहरु निरुपण गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया