सर्वोच्चले संविधानअनुसार फैसला नगरे संविधान कागजको खोस्टोमा परिणत हुने नारायणकाजीको चेतावनी – Nagarikabhiyan : National News

सर्वोच्चले संविधानअनुसार फैसला नगरे संविधान कागजको खोस्टोमा परिणत हुने नारायणकाजीको चेतावनी

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्त तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संविधान बाहिर गएर संविधानकै प्रावधान संशोधन ग¥यो भने संविधान कागजको खोस्टोमा परिणत हुने चेतावनी दिएका छन् ।

श्रेष्ठले संविधान विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सर्वोच्चलाई संविधान संशोधनको अधिकार संविधानले नदिएको बताए । सर्वोच्चले संविधानअनुसार नै फैसला गर्ने विश्वास श्रेष्ठको छ । ‘सर्वोच्च अदालतले पनि संविधानकै आधारमा टेकेर फैसला गर्ने हो, संविधान बाहिर गएर होइन,’ शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले भने, ‘सर्वोच्चलाई हाम्रो संविधानले संविधान संशोधन गर्ने अधिकार दिएको छैन । संविधान अन्तर्गत फैसला गर्ने मात्रै अधिकार दिएको छ ।’

राजनीतिक स्थिरता कायम गर्न संसद भंग गर्न नदिने भनेर राष्ट्रिय राजनीतिक सहमतिका साथ संविधान बनेको र प्रधानमन्त्रीलाई विशेषाधिकार नदिइएको उनले बताए । धारा ७६ मा दिइएको कुनै पनि विकल्पबाट पनि सरकार बन्नै सकेन भने मात्र संसद विघटन हुने संविधानले परिकल्पना गरेको भन्दै उनले यो अधिकार नभई दायित्व भएको बताए ।

‘संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधन गर्ने फैसला सर्वोच्चले ग¥यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ,’ उनले भने, ‘संविधान च्यातिएको अवस्था हुन्छ । समग्र अवस्था उल्टिने खतरा हुन्छ । संविधान सम्मत ढंगले फैसला गर्छ भन्ने विश्वास छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको प्रावधानअनुसार प्रतिनिधि सभा विघटन गरेको पनि श्रेष्ठले बताए । प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर अलोकतान्त्रिक र प्रतिगमनकारी काम गरेको श्रेष्ठको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पदीय स्वार्थका लागि पार्टी एकता गरेको भन्दै उनले भने, ‘संविधान र पार्टी विधान मान्दिनँ भन्न पाइँदैन ।’ प्रधानमन्त्री ओली प्रतिनिधि सभा सुचारू गर्न चाहने हो भने पार्टी एकताको सम्भावना पैदा हुने उनले बताए ।

प्रधानमन्त्री ओलीलाई अझै पनि सच्चिने अवसर रहेको भन्दै उनले अघि भने, ‘असंवैधानिक कदमप्रति आत्मालोचित हुँदै प्रतिनिधिसभा सुचारु गर्नेतिर आउनुभयो भने संविधान ट्रयाकमा आउँछ र नयाँ सिलसिला सुरु हुन्छ ।’ प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्रीलाई के राजनीतिक वाधा प¥यो भन्ने उनको प्रश्न थियो ।द नेपालटप