सांसद विडारीको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार प्रस्ताव राष्ट्रियसभामा दर्ता
२१ पुष २०७७, मंगलवार १३:१६
काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अस्वीकार प्रस्ताव राष्ट्रिय सभामा दर्ता गराएका छन् । सांसद विडारीले संसद रहेको अवस्थामा गएको मंसिर २९ गते राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश जारी गर्नु विधिसंगत नरहेको भन्दै अस्वीकार प्रस्ताव दर्ता गरेका छन् ।
संविधानको धारा २८४ को प्रावधानअनुरूप मुलुकका उच्चपदस्थ पदाधिकारीहरू रहने व्यवस्था र तिनीहरूबाट महत्वपूर्ण राज्यका अंगमा नियुक्ति हुने व्यक्ति-पदाधिकारीबारे निर्णय गर्ने अवस्थामा तात्विक असर पर्ने गरी संविधानको उक्त धाराको उद्देश्यमा नै प्रहार हुने भएकाले राष्ट्रिय सभा नियमावलीको नियम ८९ बमोजिम अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस गर्दछु,’ विडारीको प्रस्तावमा भनिएको छ।
१७ पुसमा शुरु भएको राष्ट्रियसभाको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेश गरेको थियो। राष्ट्रिय सभा नियमावलीको नियम ८९ मा अध्यादेश पेस भएको दुई दिनभित्र अस्वीकार प्रस्ताव पेस गर्न सकिने उल्लेख छ। सरकारले गत ३० मंसिरमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया