सुदूरपश्चिम प्रदेशमा लेखराजले लिए भीम रावलको हुर्मत, हल्लियो सीएमको कुर्सी !
२० पुष २०७७, सोमबार २०:२४
काठमाडौं। धनगढीमा नेकपा माधव(प्रचण्ड समूहका प्रभावशाली नेता भीम रावल अड्डा जमाएर बसेका छन् । उनले पार्टीको खाताको ३० लाख रुपैयाँ चलाइसकेको भनेर खबरहरु आइसकेको छ । यस्तोमा केपी ओली गुटको प्रतिनिधित्व गर्दै लेखराज भट्ट सोमबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी ओर्लिए ।
रावल पहिले नै धनगढीमा बसेर आफ्नो गुटलाई प्रभावकारी बनाउने र आफ्नो पक्षका नेताहरुको पकडमा रहेको प्रदेश सरकार जोगाउन सक्रिय छन् ।
सुदूरपश्चिममा मुख्यमन्त्री लेखराज भट्टका मान्छे भए पनि लेखराज ओली कित्तामा उभिएपछि मुख्यमन्त्री त्रिलोचन भट्टलाई रावलले साथ दिएका छन् । सुपमा माधव प्रचण्ड पक्ष भएकाले प्रदेश सरकार सिधै ढल्ने अवस्था छैन ।
एकातिर सहजै ढल्ने अवस्था् नभएको र अर्कोतिर भीम रावलले गुट बलियो बनाउने र सरकारको रक्षा गर्न अड्डा जमाएर बसेका लेखराजले भीम रावलको प्रयासमाथि हमला गरेका छन् । उनले रावलको हुर्मत लिने गरी प्रदेशसभा नै विघटन गरिदिने धम्की दिएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका भट्टले प्रदेशसभा विघटनका लागि पार्टीको स्थायी कमिटी र सरकारले अध्ययन गरिरहेको जानकारी गराउँदै विघटन गर्नुपर्ने अवस्था आए आफूहरू पछि नहट्ने चेतावनी दिए । सुदूरपश्चिममा प्रदेश सरकारलाई देखाएर दुबै समूहको कित्ता काट भइरहेका बेला लेजराजले यस्तो चेतावनी दिएका हुन् ।
भट्टले भने, ‘पार्टीको संस्थापन पक्ष हामी हौँ र हामीले अहिले सत्ता साझेदार, प्रदेश सरकार फेरबदलका विषयमा यो नै गर्ने भनेर निर्णय गरिसकेका छैनौँ। तर, यसमा स्थायी कमिटी र सरकारले गम्भीरतापूर्वक हेरिरहेको छ। हामीले उहाँहरूले हामीप्रति गर्ने व्यवहारलाई गम्भीरतापूर्वक हेरिरहेका छौँ।
उहाँहरूले कस्तो व्यवहार गर्नुहुन्छ त्यसलाई सरकारले पनि गम्भीरतापूर्वक हेरिरहेको छ। छिट्टै हाम्रो स्थानीय कमिटीको बैठक बसेर पनि कस्तो कद चाल्ने भनेर टुङ्गो लाग्छ। यदि उहाँहरूको व्यवहारले त्यो खालको कदम चाल्नुपर्ने अवस्था आयो भने पनि हामी पछि हट्दैनौँ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया