नयाँ भाइरस भित्रिएसँगै नेपाल-भारत सीमामा निगरानी
१५ पुष २०७७, बुधबार १३:२४
काठमाडौं । बेलायतमा देखा परेको नयाँ प्रकारको कोरोना भाइरसका सङ्क्रमितहरू भारतमा पनि देखिएसँगै नेपाल-भारत सीमा नाकामा निगरानी थालिनुको साथै क्वारेन्टाइनका नियम फेरि लागु गर्न लागिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपाल भारत सीमाका विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने र जनशक्ति बढाउने गरी विभिन्न निकायसँग समन्वय भइरहेको छ। बेलायतबाट नेपाल आएकामध्ये हालसम्म पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको र नयाँ प्रकारको कोरोना भाइरस भएरनभएको पुष्टिका लागि नमुना हङ्कङ पठाउन लागिएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
के छ सीमाको स्थिति ?
वेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस बिस्तारै विभिन्न देशमा फैलिन थालेसँगै नेपाल सरकारले बेलायतबाट आउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। हाल नयाँ कोरोना भाइरसका सङ्क्रमित भारतमा समेत भेटिएपछि नेपालमा पनि भित्रिन सक्ने चिन्ता बढेका छन्। नेपाल(भारत सीमा खुला भएकाले भारतबाट कोरोना भाइरसको नयाँ प्रकार नेपाल भित्रिन सक्ने सम्भावना उच्च रहेको निष्कर्ष निकालिएको छ ।
स्थल र हवाई मार्गबाट आएकाहरूलाई क्वारन्टीन र परीक्षण अनिवार्य गर्नेगरी काम सुरु गर्न लागिएको बताइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारी भन्छन्, ‘जोखिमको आधारमा आवागमनहरूलाई व्यवस्थित गर्ने, विदेशबाट भित्रिने सबै नाकाहरूमा निगरानी बढाउने, अनि आएका व्यक्तिहरूलाई क्वारन्टीनमा राख्ने र परीक्षण गर्ने रणनीतिहरू अलि सघन रूपमा अघि बढाइएको अवस्था छ। क्वारन्टीनमा १० दिन बस्न र बसाउन सबै निकायसँग समन्वय अघि बढाइएको छ।’
के नेपालमा हुन्छ परीक्षण ?
नयाँ प्रकारको कोरोना भाइरस बेलायतबाट विभिन्न देशमा फैलिएलगत्तै कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक एक पटक बसेको थियो। भारतमा समेत देखिएपछि सीसीएमसीको थप बैठक छिट्टै बसेर थप निर्णय लिने बताइएको छ। अहिले पनि नेपालीहरूलाई प्रवेशका लागी भारतसँगका १४ वटा नाका खुला रहेका र ती नाकामा बेलैमा सतर्कता अपनाउन नसके छिटो फैलिन सक्ने नयाँ प्रकारको कोरोना भाइरसले नेपालमा सङ्क्रमण फेरि बढाउन सक्ने कतिपयको चिन्ता छ।
बेलायतबाट आएका मानिसको स्थिति के छ ?
यूकेबाट नेपाल आएका मानिसहरूलाई अहिले होटलमा क्वारन्टीनमा राखिएको र उनीहरूको परीक्षणको काम भइरहेको बताइएको छ। परीक्षण भएकामध्ये पाँच जनामा कोरोना भाइरस पुष्टि भएको र त्यो नयाँ प्रकारको कोरोना भाइरस भएरनभएको निर्क्योल भइनसकेको अधिकारीहरूको भनाइ छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डे भन्छन्, ‘विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा डब्ल्यूएचओको हङ्कङस्थित सेन्टरमा नमुना पठाएर अध्ययन गर्दैछौँ।’ नयाँ प्रकारको भाइरस निर्क्योल गर्न आवश्यक पर्न सक्ने सम्पूर्ण जीनोम सिक्वेन्सिङ गर्ने सुविधा नेपालमा नभएको उनले बताए। तर आनुवंशिक अनुसन्धानको क्षेत्रमा काम गरिरहेका एक वैज्ञानिकले नेपालमै यो परीक्षण गर्न सकिने सुविधा रहेको बताए।द नेपालटपबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया