वीरगञ्जस्थित दुई तेल उद्योगमा प्रहरीको छापा – Nagarikabhiyan : National News

वीरगञ्जस्थित दुई तेल उद्योगमा प्रहरीको छापा

पर्सा । वीरगञ्ज महानगरपालिका–३ स्थित सोयाबिन तेललाई तिलको तेल भनेर विक्री गरी उपभोक्ता ठग्ने दुईवटा उद्योगमा जिल्ला प्रहरी कार्यालय पर्साले छापामारी नक्कली उत्पादन बरामद गरेको छ । शिवशक्ति रिप्याकिङ उद्योग र त्रिदेव रिप्याकिङ उद्योगमा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त नेतृत्वको प्रहरी टोलीले मंगलवार साँझ छापा मारेको हो ।

उद्योगमा रिफाइन तेल बाहिरबाट ल्याएर केमिकल प्रयोग गरी त्यसलाई तिलको तेल बनाएर प्याकिङ गरी बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो । उद्योगबाट नक्कली उत्पादनका साथै नक्कली स्टीकर र भारत तथा नेपालका विभिन्न उद्योगको नाममा तयार प्याकेटहरूसमेत बरामद गरिएको छ ।

No description available.

प्रहरीले शिवशक्ति रिप्याकिङ उद्योगका सञ्चालक दीपक कुमार वर्णवाल र दिव्य रिप्याकिङ उद्योगका सञ्चालक राजन कुमार वर्णवाल पक्राउ समेत गरेको छ । दीपकले भाइ सन्दीपकुमार अग्रवालको नाममा उद्योग दर्ता गरेर सञ्चालन गर्दै आएका थिए ।

१५ लिटरको जर्किन र प्याकेटमा सोयाबिन तेल ल्याई उनीहरुले तीलको तेल भनेर बोतलमा रिप्याकिङ गरेर बेचेको प्रहरीको आरोप छ । कम्पनीले आफनो नाममा छापेको प्याकेटमा प्याक गरी विक्री वितरण गर्दै आएको भेटिएको, कुन ठाउँबाट खरीद विक्री गरिएको छ, त्यो विषयमा थप अनुसन्धान गर्ने काम भईरहेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेशराज पुरीले बताए ।

No description available.

सोयाबिनको तेल लगेर रिप्याकिङ गर्ने र शत प्रतिशत शुद्ध तिलको तेल भनेर बिक्री गरेर हिन्दु आस्थासँग खेलवाड समेत गरेको प्रहरी उपरिक्षक गंगा पन्तले बताइन् । ‘शुद्ध तिलको तेल पुजापाठमा बढी प्रयोग हुन्छ । उद्योगिहरुले तिलको तेलको नाममा सोयाबिन तेल रिप्याकिङ्ग गरी उपभोक्तालाई ठग्ने काम गरेको हुनाले ठगि मुद्दामा आवश्यक कारवाही हुन्छ,’ उनले भनिन् ।

प्रहरीले छापामारी गरेर शिवशक्ति रिप्याकिङ उद्योगबाट अन्दाजी २ हजार ५ सय लिटर र दिव्य रिप्याकिङ उद्योगबाट ३ हजार ६ सय लिटर भटमासको तेल, नक्कली स्टीकर र भारत तथा नेपालका विभिन्न उद्योगको नाममा तयार प्याकेटहरू समेत बरामद गरेको छ ।द नेपालटपबाट