प्रधानमन्त्री ओली सुध्रिने आशा छ : माधव नेपाल – Nagarikabhiyan : National News

प्रधानमन्त्री ओली सुध्रिने आशा छ : माधव नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिने आशा लिएका छन् ।

संसद विघटनको विरोधमा मंगलबार राजधानीको भृकुटीमण्डपमा आयोजित प्रचण्ड–नेपाल समूहको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताएका हुन् ।

नेकपा प्रचण्ड–माधव समूहका दोस्रो अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री अ‍ोली सुध्रिन्छन् कि भनेर अहिले आफूहरुले अन्तिम मौका दिएको बताएका छन् ।
पार्टी, देश र जनताविरुद्ध गद्दार गरे पनि सुध्रिन्छन् कि भनेर आफूहरुले अहिले अन्तिम मौका दिएको र पार्टीबाट पनि हटाइ नसकेको उनले खुलासा गरे ।

पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको बताउँदै उनले भने–‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं ।’

आक्रोशपूर्ण रुपमा प्रस्तुत भएका अध्यक्ष नेपालले केपी ओली एण्ड प्रवृतिको आयु सकिएको समेत टिप्पणी गरे ।
ओलीले चालेका निरंकुशताविरुद्ध कदमको विरोधमा आफूहरु दृढताका साथ उभिएको बताउँदै अध्यक्ष नेपालले भने, ‘उहाँको उक्त कदमलाई कोही पनि सहन तयार छैन, त्यो पुस ५ को दिन जनताले बनाएको संविधानको मर्म र भावनालाई कुठाराघात भएको दिन कालो दिन हो ।’

यसैगरी ओलीतिर लागेका नेताहरुतर्फ संकेत गर्दै उनले बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सकेकोमा स्याबास दिएका छन् । उनले–‘बाङ्गो पुच्छरलाई तोरीको तेल घस्दा सोझो बनाउन सक्नुभयो भने स्याबास भन्छु ।’ उनले प्रधानमन्त्री ओली पश्चाताप गरेर आए छलफल गर्न समेत तयार रहेको बताए ।

अन्यथा, भीरबाट लड्नेलाई रामराम मात्र भन्न सकिने पूर्वप्रधानमन्त्री समेत रहेका बताउँदै उनले यही बाटोमा हिँडे निरंकुश बाटो समातेका केपी ओली एण्ड प्रवृत्तिको अन्त्य हुने बताए ।

नेपालले प्रश्न गरे, ‘के त्यो राजनीतिक, संवैधानिक, जनभावना, राजनीतिक दलको चाहना अनुरुप छ ? परिवर्तनको जनआकांक्षा अनुरुप छ ?’ हरेक कोणबाट हेर्दा त्यो कदम अनुपयुक्त रहेका उनको भनाइ छ ।
यसविरुद्ध सबै जनता, समुदाय र वर्ग लागेको र लाग्नुपर्नेमा नेपालले जोड दिए । यसले संविधानलाई क्षतविक्षत र अस्थिरता निम्त्याएको उनले बताए । ओलीको उक्त कदमले जनताको सुखको दिनहरु ल्याउन पाइँदैन कि भनेर आफूहरु चिन्तित रहेको उनको भनाइ छ ।
ओलीमा व्यक्तिवाद, निरंकुशता र गुटगत प्रवृत्ति हावी भएकोले पार्टी अनुशासन, विधिपद्दति केहीबारे मतलव नभएको नेपालको टिप्पणी छ । त्यसैले ओलीको असंवैधानिक कदमलाई अस्वीकार गर्नुको विकल्पन नरहेको उनले बताए ।द नेपालटपबाट