सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नति गर्ने निर्णय
३ पुष २०७७, शुक्रबार २०:०७
विरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थलको धावनमार्ग १ हजार ५ सय ५५ मिटरमा विस्तार गर्ने निर्णय गरेको छ ।
अहिले विमानस्थल धावनमार्ग १ हजार २ सय ५५ मिटर रहेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा हिजो (बिहीबार) बसेको बैठकले सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।
सुर्खेत विमानस्थललाई एप्रोच लाइट सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित हाललाई १ हजार ५ सय ५५ मिटरको धावनमार्ग र रात्रिकालीन उडान गर्न सकिने विमानस्थलको रूपमा विकास एवं विस्तार गर्ने निर्णय भएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले दिएको जानकारी अनुसार विमानस्थल विस्तारका लागि नेपाल सरकारले तोकेका प्रारम्भिक अधिकारीले प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण (क्षेत्रफल र तीन पुस्ते) यथाशीघ्र तयार गरी जग्गा रोक्का प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो ।
उनले भने,“सुर्खेत विमानस्थल विस्तार एवं स्तरोन्नतिका क्रममा आउन सक्ने विविध समस्या सामाधान गर्न कर्णाली प्रदेश सरकारले सर्वदलीय एवं सर्वपक्षीय समिति गठन गर्ने निर्णय गरेको छ ।”
जग्गा प्राप्ति प्रक्रिया तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारीले ३ दिनभित्र मूल्याङ्कन समितिको बैठक आह्वान गरी काम अघि बढाउने, विमानस्थल विस्तारका लागि मुआब्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले व्यहोर्ने सहमतिसमेत भएको छ ।
यसका लागि कर्णाली प्रदेश सरकारले चालु आवमा ५० करोड बजेट छुट्याएको छ ।
उक्त रकममध्येको ५ प्रतिशत लागत रकम वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने निर्णय भएको जनाइएको । ३ अर्ब बजेट लाग्ने अनुमान गरिएको सुर्खेत विमानस्थल निर्माणका लागि संघीय र प्रदेश सरकारबीच गत असोज १५ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया