सरकारको अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर : काँग्रेस
३ पुष २०७७, शुक्रबार १५:४४
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश असंवैधानिक भएको निष्कर्ष निकाल्दै उक्त अध्यादेश तुरुन्तै फिर्ता लिनुपर्ने माग गरेको छ ।
काँग्रेस संसदीय दलकोे शुक्रबार बसेको बैठकले संसदको विशेष अधिवेशन तत्काल बोलाउनुपर्ने, भ्रष्टाचार, बेथिति र अराजकता बढेको तर सरकारले यसलाई रोक्न नसकेको पनि निश्कर्ष निकालेको छ ।
संसद बैठक बसेर धेरै मुद्दा किनारा लगाउनुपर्ने बेलामा असंवैधानिक र अलोकतान्त्रिक हिसाबले ल्याइएको अध्यादेश फिर्ता लिन संसदीय दलको बैठकले माग गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । द नेपालटप उनका अनुसार संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको बैठकको निष्कर्ष छ । काँग्रेसले संसदको बैठक अबिलम्ब बोलाउन पनि माग गरिएको उनको भनाइ छ ।
यस्तै बैठक बारे जानकारी दिदै सांसद डा.डिला संग्रौलाले वर्तमान सरकार चौतर्फी । रुपमा असफल भएको पनि बैठकले निश्कर्ष निकालेको जानकारी दिइन ।
त्यस्तै, उखु किसानको भुक्तानी तुरुन्त गर्नुपर्ने, किसानले मल नपाएकोले तुरन्तै मलको व्यवस्था गर्नुपर्ने, विप्लव समूहद्वारा शिक्षकको हत्याको निन्दा गर्दै दोषीलाई कारबाही गर्नुपर्ने पनि माग गरेको छ ।
बैठकमा संसदीय दलका नेता शेरबहादुर देउवाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभएसम्म आफू संवैधानिक परिषदको बैठमा सहभागी नहुने जनाएका थिए । बैठकमा देउवाले भने,‘अध्यादेश फिर्ता नलिएसम्म म संवैधानिक परिषदको बैठकमा जान्न ।’ शुक्रबारको बैठकमा सांसदहरु पूर्ण बहादुर खड्का, राधेश्याम अधिकारी लगायत बोलेका थिए । सांसद अधिकारीले वर्तमान सरकारलाई कानून बनाउने अधिकार नभएको जिकिर गरे । उनले भने,‘यसरी अध्यादेश ल्याउनु भनेको यो लोकतन्त्रमाथिको आक्रमण हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया