श्रम स्वीकृति अनलाइनमार्फत् नवीकरण हुने – Nagarikabhiyan : National News

श्रम स्वीकृति अनलाइनमार्फत् नवीकरण हुने

काठमाडौं । अब विदेशमा रहेका नेपाली श्रमिकले अनलाइनबाट पुनः श्रम स्वीकृति (रि–इन्ट्री) सुविधा लिन पाउने भएका छन् ।

आगामी साताबाट लागू हुने यो नियमपछि वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुने भएका हुन् । सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्ने छ ।

यो व्यवस्थाका लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट-वेमार्फत बीमा र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम तिर्न सकिने छ । विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट-वेसँग सम्झौता गरेको छ । आईएमई पे, ई-सेवा जस्ता गेट-वेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्ने छन् ।

त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउने छ । वैदेशिक रोजगार विभागका प्रवक्ता टिकामणि न्यौपानेका अनुसार विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने बाध्यता हट्ने बताए । श्रमिकले दुई पटकसम्म विदेशबाबाट श्रम रि-इन्ट्रीको सुविधा पाउने छन् ।

विदेशमा आफ्नो भिषा अवधि थपेर त्यहाँ थप समय बस्नेहरुलाई अनलाइनमार्फत नै श्रमको रि-इन्ट्री गर्न सक्ने उनले बताए । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम रि-इन्ट्रीको सुविधा दिन सकिने व्यवस्था गरेको थियो ।द नेपालटप