पिण्डेश्वर मन्दिरमा सतबीज छर्नेको घुइचो – Nagarikabhiyan : National News

पिण्डेश्वर मन्दिरमा सतबीज छर्नेको घुइचो

धरान ।  दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै आज बिहानैदेखि धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा सतविज छर्नेको घुइचो लागेको छ । सदविज छर्न प्रदेश नं. १ का विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरुको आइतबार विहानदेखिनै मन्दिरमा भीड लागेको थियो । सदविजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबीज छर्ने परम्परा छ ।

आजकै दिन धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर बाबाधाममा सदविज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रही आएको छ । बिहान स्नान गरेर सदविज छरेपछि पितृको उद्धार हुने र आफुलाई पनि फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेकैकारण सर्वसाधारण पिण्डेश्वरमा मन्दिरमा घुइचो लागेको पुर्वेली न्युजमा लेखिएको छ ।

कोरोना जोखिमका कारण लामो समय अर्थात ९ महिना भन्दा बढी समयदेखि मन्दिर हुदा सुनसान रहेको धरानका धार्मिक मठमन्दिर गत शनिवारबाट खुलेसंगै भक्तजनहरुने क्रम निरन्तर बढ्दै गएको छ । स्वास्थ्यकर्मीहरुले जाडो मौसममा कोरानाको जोखिम बढी हुने बताउदा समेत मन्दिरमा आएकाहरुले सामान्य स्वास्थ्य सुरक्षा समेत अपनाइएको पाइदैन । भीड बढ्नुमा स्थानीय सरकार र प्रसासनको कमजोरी भएको भक्तजन गोपाल सुनुवार बताउछन् ।

यता जनप्रतिनिधिहरुले पनि मन्दिर खुल्ला गरे पनि व्यवस्थापन भने गर्न नसकेको प्रष्ट देखिन्छ । धरान ९ का वडाअध्यक्ष रत्न बहादुर कटुवालले मन्दिरमा आएका सर्वसाधारणको असवाधानीका कारण कोरोनाको जोखिम बढेर गएको बताउछन् । भीड नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीले नै मास्क नलाएको दृश्य मन्दिरमा देखिएको थियो । मन्दिरका पूजारी भने सर्वसाधारण आफै सचेत हुनुपर्ने भन्दै पन्छिए ।

कोरोनाकै कारण नेपालीको मौलिक चाडपर्व विगतमा प्रभावित भएपनि अहिले भने सामान्य बन्दै गएको अवस्था छ । तथापि कोरोनाको जाखिम भए पनि भक्तजनहरुको आस्था झन प्रगाढ भएको देखिन्छ ।