आरक्षलाई निकुञ्जमा परिणत गर्न माग – Nagarikabhiyan : National News

आरक्षलाई निकुञ्जमा परिणत गर्न माग

इनरुवा, मंसिर २७ गते । प्रदेश १ को प्रवेशद्धारमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षलाई निकुञ्जमा परिणता गर्नुपर्ने कोशी गाउँपालिकाका सरोकारवालाहरुले माग गरेका छन् । आरक्षबाट नागकिरमा ठूलो असर परेको र लाभ न्यून रहेकाले आरक्षलाई निकुञ्जमा परिणता गर्नुपर्ने माग गरेका हुन् ।
कोशी टप्पुको जंगली जनावरले वार्षिक कैयौं ब्यक्तिको घरबार बिहिन बनाएको भन्दैं आरक्षलाई सुरक्षा र पर्यटकीय हिसाबले निकुञ्जमा परिणत गर्नुपर्ने कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताउनुभयो । अन्सारीले कोशीटप्पु दूई प्रदेशको सीमामा पर्ने आकर्षक र पर्यटकको रोजाईको क्षेत्र बन्न सक्ने सम्भावना रहेको भएपनि समस्या र क्षति मात्रै नागरिकले बेहोर्न बाध्य रहेकाले यसलाई ब्यवस्थित गर्न निकुञ्ज बनाउन जरुरी रहेको बताउनुभयो ।
वहाँले आरक्ष क्षेत्रको जंगली भैसी (अर्ना), पाँच सय ३० बढीका प्रजातिका चरा, जंगल सफारी, जल सफारी, चरा अवलोकन सहितको सम्भावना रहेकाले आरक्ष भएकै कारण उत्थान हुन नसकेकाले यसको स्तरन्नोती गर्न निकुञ्ज बनाउन पहल गर्नुपर्ने बताउनुभयो । वहाँले कोशी टप्पुको आसापास क्षेत्रमा रहेको सुनसरी, उदयपुर र सप्तरी जिल्लाका पाँच स्थानीय तहले आरक्षबाट लाभभन्दा हानी बढी भएकाले निकुञ्जमा परिणता गर्न आग्रह सहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज विभाग तथा प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय समेतमा पहल गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष अन्सारीले हालै कोशी गाउँपालिकामा आउनु भएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समक्ष समेत राष्ट्रिय निकुञ्जमा परिणत गरिदिन पहलको लागि आग्रह गर्नुभयो । अन्सारीले आरक्षबाट न सरकारलाई फाइदा न त जनतालाई नै फाइदा भएकोले यसलाई पूर्णतः ब्यवस्थित गर्न निकुञ्ज नै बनाउनुपर्ने मुख्यमन्त्री राई समक्ष राखेको बताउनुभयो । अन्सारीले कोशी टप्पुबाट निस्कने जंगली हात्ती र अर्ना सहितका जनावरले नागरिकको अकालमा ज्यान लिने र केहीलाई घाइते बनाई अगंभङ्ग समेत बनाएको तथा बालीमा समेत ठूलो क्षति पु¥याएकाले त्यसलाई न्यूनीकरण गर्न कोशीको पूर्वी तटबन्ध छेउबाट आरसीसी ढलान सहितको नहर निर्माण गर्नुपर्ने सुझाव सहित आरक्षलाई निकुञ्ज बनाउन आग्रह गरेको बताउनुभयो ।
कोशी क्षेत्र बाढी कटानको चपेटा र पीडामा रहेको अवस्थासँगै जंगली जनावरको समेत आतंक रहेकाले यसलाई ब्यवस्थित पार्न जरुरी रहेको प्रदेश मन्त्री र मुख्यमन्त्रीलाई अवगत गराएको अन्सारीले बताउनुभयो ।
आरक्ष क्षेत्रको सबैभन्दा ठूलो समस्या जंगली जनावर रहेकाले त्यसलाई न्यूनीकरण गर्न हात्ती र अर्ना नियन्त्रण सहित बिदेशी पर्यटकलाई भित्रियाउन आरक्षलाई निकुञ्जमा परिणत गर्न आवश्यक रहेको अन्सारीले बताउनुभयो ।
त्यसैगरी कोशी गाउँपालिका निवासी प्रदेश १ का मन्त्री जगदिश प्रसाद कुसियैतले समेत आरक्षलाई निकुञ्ज बनाउन आवश्यक रहेकाले त्यसको संघीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो । कुसियैतले आफूले समेत आरक्षको पीडाबाट रोक्नका लागि निकुञ्ज बनाउन आवश्यक रहेको बताउनुभयो । गाउँपालिकाले राखेको सुझाव र प्रस्तावमा आफनो समर्थन रहेको बताउँदै मन्त्री कुसियैतले आफू त्यसको पहलमा लागेको प्रतिक्रिया दिनुभयो । कोशी टप्पु वन्यजन्तु आरक्ष तीन जिल्लाको १७५ वर्गकिलो मिटर क्षेत्रफलमा फैलिएर रहेको छ ।