‘कुलिङ पिरियड’मा शीतलनिवास ‘गर्मिदा’ नेकपामा तरंग – Nagarikabhiyan : National News

‘कुलिङ पिरियड’मा शीतलनिवास ‘गर्मिदा’ नेकपामा तरंग

काठमाडौं । सत्तारूढ नेकपाभित्र विवाद चरमचुलीमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीचको भेटले नेकपाभित्र तरंग ल्याएको छ ।

सहमतिका लागि दिइएको समयसीमामा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवाद हुन नसक्दा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको भेटवार्ताले नेकपाभित्र संशय पैदा गरेको हो ।

नेकपा विवाद उत्कर्षमा रहेका बेला राष्ट्रपति भण्डारीसँग नेताहरुको भेटवार्ता हुने गरेको छ । गएको आठ महिना यताको नेकपा विवादमा राष्ट्रपति भण्डारीसँग नेकपा नेताहरुको भेटवार्ता बाक्लो हुने गरेको छ ।

१६ मंसिरमा बसेको सचिवालयमा अध्यक्ष ओली अनुपस्थित भएपछि सहमतिको प्रयासका लागि २० मंसिरसम्म बैठक स्थगित गरिएको छ । विवाद समाधानका लागि अध्यक्षद्वयबीच संवाद हुनुपर्ने भए पनि राष्ट्रपतिसँग लञ्चसहितको परामर्श भएपछि नेताहरू सशंकित बनेका हुन् । तीन दिनको कुलिङ पिरियडमा शीतलनिवास गर्मिदा नेकपा वृत्तमा तरंग फैलिएको छ ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेट वार्ता भएपछि त्यसबारे बुझ्न अध्यक्ष प्रचण्ड बिहीबार बेलुका शीतलनिवास पुगे । भेटमा पार्टी एकता जोगाउन राष्ट्रपति भण्डारीले प्रचण्डसँग आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

पार्टीभित्र विवाद उछालिएका बेला राष्ट्रपतिसँग भेट गर्दै अध्यक्ष ओलीले अन्य खेमालाई धम्क्याउन खोजेको प्रचण्ड–माधव समूहका नेताहरूको बुझाइ छ । राष्ट्रपतिसँगको सुझावसल्लाहले पार्टीको विवाद समाधान नहुने भन्दै उनीहरूले राष्ट्रपतिभन्दा अध्यक्ष प्रचण्डसँग संवाद गर्न ओलीलाई सुझाव दिएका छन् ।      द नेपालटपमा लेखिएको छ ।

आफू संकटमा परेपछि राष्ट्रपतिलाई प्रयोग गर्दै गत ८ वैशाखमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका ओलीले यस पटकसमेत यस्तै अप्रिय निर्णय लिन सक्ने उनीहरूको आकलन छ । प्रचण्ड–माधव गठबन्धनको दबाबसामु नगल्ने रणनीति बनाएका ओलीले बाध्य पारिएको खण्डमा आफूलाई सहज हुने गरी पुनः दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने रणनीति बनाएका छन् ।

राष्ट्रपतिसँको भेट यसकै सेरोफेरोमा केन्द्रित भएको हुन सक्ने त्यस गठबन्धनको आकलन छ । ‘अहिले कमजोर देखिएका ओलीले विपक्षीलाई गलाउने रणनीतिबारे छलफल गर्नुभएको हुन सक्छ । तर, अब पार्टीमा कोही गल्नेवाला छैन,’ नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवले भने ।

राष्ट्रपतिसँग भेट गर्दै अध्यक्ष ओलीले कमिटीका अन्य सहकर्मीलाई धम्क्याउन खोजेको हुन सक्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यको बुझाइ छ । ‘पार्टीको सचिवालय बैठकलाई बहिष्कार गरेर राष्ट्रपतिसँग परामर्श गर्दै उहाँले पार्टीका साथीहरूलाई धम्क्याउन खोज्नुभएको होला,’ शाक्यले भनिन् ।

ओलीको यो शैलीले राष्ट्रपति र पार्टीलाई समेत राम्रो नगर्ने उनीहरूको मत छ । पार्टीभित्रको समस्या समाधानका लागि पार्टीमा क्रियाशील नेताहरूसँगै छलफल गर्नुपर्ने त्यस गठबन्धनको माग छ । स्थायी कमिटी सदस्य बेदुराम भुसालले दुई अध्यक्षबीचको समस्या राष्ट्रपतिसँग परामर्श गरेर समाधान नहुने बताए । ‘समस्या दुई अध्यक्षसँग हो, संवाद र सल्लाह पनि अध्यक्षद्वयबीच नै हुनुपर्छ । राष्ट्रपतिसँगको सल्लाहले पार्टीमा कुनै निकास दिँदैन,’ नेता भुसालले भने ।

यस्तै, स्थायी कमिटी सदस्य शाक्यले अध्यक्ष ओलीको यस शैलीले पार्टी र राष्ट्रपतिलाई समेत हित नगर्ने बताइन् । ‘अध्यक्ष ओली प्रधानमन्त्रीसमेत भएकाले राष्ट्रपति कार्यालय जानै हुँदैन भन्न मिल्दैन तर पार्टीको विवाद समाधान नभएको अवस्थामा राष्ट्रपति कार्यालय जानुले राम्रो सन्देश प्रवाह गर्दैन । अहिले संवाद दुई अध्यक्षबीच जरुरी छ राष्ट्रपतिसँग छैन,’ उनले भनिन् ।

यता, प्रधानमन्त्री सचिवालयले भने राष्ट्रपतिसँगको भेटले कोही आत्तिनुपर्ने अवस्था नभएको बताएको छ । ‘राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटघाटले कोही आत्तिनु पर्दैन, हल्ला फिजाइएजस्तो कुनै बोल्ड निर्णय आउने अवस्था अहिले छैन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

राष्ट्रपतिका सल्लाहकार टीका ढकालले पनि यो भेट अतिरञ्जित गर्नुपर्ने कुनै कारण नरहेको बताए । ‘राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटघाट कुनै नौलो विषय होइन, यसलाई अतिरञ्जित गर्नुपर्ने कारण छैन,’ उनले भने ।

बिहीबार विकसित राजनीतिक घटनाक्रमका विषयमा राष्ट्रपतिसँग छलफल तथा परामर्श भएको शीतलनिवास स्रोतले बताएको छ । ‘लञ्चसहितको भेटघाटमा विकसित राजनीतिक घटनाक्रमका विषयमा पनि केही कुरा भएका छन् कतिपय विषय आन्तरिक राजनीतिमा केन्द्रित छन्,’ शीतल निवास स्रोतले भन्यो ।