साझा र विवेशशीबीच एक हप्तामै एकता : यसरी गरिँदैछ कार्य विभाजन
१६ मंसिर २०७७, मंगलवार ०९:२५
काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता प्रक्रियालाई अन्तिम रूप दिन गृहकार्यमा जारी छ । यही साता पुरानै विवेकशील साझा पार्टी ब्युँताउने दुबै पार्टीका नेताहरु तयारी छन् ।
साझा पार्टीसँग मिल्न भनेर विवेकशीलले संगठनभित्रका ६ सय १६ मतदाताबीच भोटिङ नै गरायो । दुईतिहाइ बहुमतले साझासँग फेरि एकताको निर्णय अनुमोदन गरिसकेको छ ।
नेतृत्वका विषयमा भने केही प्राविधिक विषय बिलाउन बाँकी देखिन्छ । ‘ एकताको काम करिब टुंगो लागेको छ, अब रवीन्द्र मिश्रजी सेरेमोनियल भूमिकाको अध्यक्ष बन्ने, मिलनजी कार्यकारी अधिकारसहितको संयोजक,’ वार्ता टोलीमा सहभागी एक नेताले भने ।
‘छ महिनाभित्र महाधिवेशन गर्ने । त्यस बेलासम्म एक अर्कालाई अहिलेकै सहमतिको स्पिरिटमा स्वीकार्ने’, उनले थपे । नीहरूले दुवै पार्टीतर्फ संघीय समिति सदस्य घटाउने निर्णय गरेका छन् भने अब नयाँ पार्टीको नाम पुरानै विवेकशील साझा पार्टी रहने छ ।
साझा पार्टीकी वार्ता समिति संयोजक समीक्षा बाँस्कोटाले भने दुवै नेता कार्यकारी हुने भन्दै यसअघि आइरहेका खबरको खण्डन गरेकी छन् । ‘अध्यक्ष र संयोजक दुवै कार्यकारी नै हुने हो, अधिकार प्रयोगबारे चैँ अझै छलफल भइरहेको छ’ उनले भनिन् ।
नयाँ केन्द्रीय कमिटी सय जनाजतिको हुने बताइएको छ । विवेकशील साझाले विगत चुनावमा प्रयोग गरेको झन्डा, चुनाव चिह्न कायम हुने छ । कार्यालय पनि बखुन्डोलमै रहने छ । सामाखुसीस्थित विवेकशीलको कार्यालयलाई प्रदेशहरूको सम्पर्क कार्यालयमा रूपान्तरण गर्ने योजना छ ।
विगतमा विवेकशीलको बीउ रोप्ने उज्ज्वल थापाले छायामै बसेर सघाउने बताएका छन । त्यसका अर्का आर्किटेक्ट गोविन्द नारायण सुरुमा यो एकता स्वीकार गर्ने पक्षमा देखिएका छन् । संघीय संसदमा नजितेका यी दुई पार्टीसँग बागमती प्रदेश सभामा विवेकशीलका दुई, साझाको एक गरी तीन सांसद छन् ।
उनीहरू दुवै वार्ता समितिमै रहेका पदाधिकारी भए पनि अर्को पक्षलाई सकार्न नसक्ने अवस्थामा थिए । उज्ज्वल थापा र रवीन्द्र मिश्रबीच पनि परस्पर स्वीकारभाव थिएन । रवीन्द्रको शैलीलाई उज्ज्वलले एकलौटी विचार लादेको अर्थमा लिए । उज्ज्वल अन्तर्मुखी र योजनामा चल्ने खालका भए पनि उनमा पर्याप्त स्पष्टता र आक्रामकताको अभाव देखिन्थ्यो । उनीहरूको व्यक्तित्व खिचातानीको मूल्य संगठनले चुकाउन पुग्यो । द नेपालटपमा लेखिएको छ ।
रवीन्द्रले अब्दुस मियाँलाई युवा, रिता परियारलाई महिला संगठनको नेतृत्व सुम्पे । मियाँ र परियार दुवै आफ्नो क्षेत्रका योग्य पात्र थिए । तर, आफूसँग कुनै सल्लाह नगरी उनीहरूलाई पदोन्नति गरिएको भन्दै उज्ज्वल थापा पक्ष क्रुद्ध भयो ।
सहभागितामूलक लोकतन्त्र भन्ने विचार अवलम्बन गरे पनि आफ्नै संगठनभित्र त्यसको कुनै अभ्यास नगरिएको आरोप विवेकशील पक्षले लगायो । साझा पक्षले माथिबाट पार्टी निर्माण गर्नुपर्ने ध्यान दिएको उनीहरूको आरोप थियो । साझा पक्षले केवल माइतीघर घुमेर नहुने भन्दै स्थिर राजनीतिक शक्ति बनाउन संगठन नबनाए केही समयपछि स्वतः कमजोर बन्दै गइने अडान लियो ।
व्यक्तित्वको खिचातानी, त्यसमाथि सोचहरूको प्रष्ट भिन्नता । यसरी पार्टी राम्ररी बनिनसक्दै २७ पुस २०७५ मा फुट्यो । पछि त मुमाराम, सूर्यराजहरूले पार्टी छाडिहाले । न रह्यो अभियान, न संगठन ।
नीति के हो प्रष्ट छैन विवेकशील साझाको । भीडमा लोकप्रिय देखिने एजेन्डाहरूमा उनीहरू तुरुन्तै बोल्छन् । तर, जनताको जीवनलाई छुने गम्भीर विषयहरूमा भने पानी छामेर मात्रै फाल हान्छन् ।
उनीहरूको बीचमा कुनै नीति छ भने पनि त्यसमा एकरूपता आइसकेको छैन । तर, दुई वर्षपछि आउने चुनावले उनीहरूलाई अत्याउन थालिसकेको छ ।
कमिटी प्रणालीलाई विवेकशीलले मान्ने, सहभागितामूलक लोकतन्त्रलाई साझाले मान्ने गरी विगतको एकीकृत पार्टीको दस्तावेज नै नयाँ एकताको प्रस्थानविन्दू हो भनी सकार्न दुवै पक्ष तयार भएको छ । धर्मनिरपेक्षता र संघीयताको विषयमा संविधानवाद मान्ने’ उनीहरूको नीति छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया